चाडपर्वमा चिनीको आपूर्ति सहज बनाउन उपभोक्ता अधिकारकर्मीको तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवालाई पत्र पठाइएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको समस्या विगत ५ वर्षदेखि जस्ताको तस्तै रहेकोले यसको समाधान गर्न माग गरेको हो ।
मञ्चले लेखेको पत्रमा भनिएको छ, ‘दैनिक दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको आपूर्ति व्यवस्थापन अझै पनि समाधान हुन सकेको छैन । दशैं÷तिहार तथा छठ नजिकिँदै गर्दा बजारमा चिनीको मूल्य १०० रुपैयाँभन्दा माथि पुगेको छ ।’
यस्तो अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेसनसँग ३०० मेट्रिक टन र चिनी उत्पादकसँग साढे ६ हजार मेट्रिक टन चिनी रहेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।
तर, चाडवाडको समयमा प्रतिमहिना ३० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यसअघि मञ्चले नै जेठ महिनामा संकलन गरेको तथ्याँकअनुसार निजी क्षेत्रसँग २१ हजार मेट्रिक टन चिनी मौज्दात थियो ।
यस्तै, भन्सार विभागको तथ्याङ्कअनुसार सो अवधिमा १० हजार ५०० मेट्रिक टन चिनी आयात भएको छ । यसले अर्थ मन्त्रालयका उच्च पदस्थहरुले सरकारलाई नै गुमराहमा राखेर आपूर्ति व्यवस्था असहज पार्ने नियत देखिएको मञ्चले आरोप लगाएको छ ।
प्रतिक्रिया