भोजपुर - भोजपुर पशुपालनका लागि उपयुक्त जिल्ला मानिन्छ । त्यहाँ प्रशस्त मात्रामा दूधको उत्पादन भए पनि सडक तथा अन्य विविध कारण किसानले बिक्री गर्न असम्भव भएको छ ।
बजारमा लैजान समस्या हुने भएपछि ती भेगका मानिस खास व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छैनन् । स्थानीय सरकारले उपयुक्त वातावरण मिलाइदिए व्यावसायिक रुपमा लाग्ने किसान बताउँछन् ।
बजारसम्म दूध ल्याएर बेच्न किसानलाई सडकको समस्या छ । व्यावसायिक रुपमा दुग्ध व्यवसाय सञ्चालन गरेकाहरुले दही, घ्यू, पनिर, छुर्पी लगायतको मूल्य बर्सेनि बढाए पनि दूधको मूल्य बढाएर दिन नमान्ने समस्याले पनि दूध बिक्री गर्न छाडेको स्थानीय कृषक बताउँछन् ।
कृषकले उद्योगमा लगेर बिक्री गर्दा रु ४५ देखि ५५ पाउने तर, उद्योगले प्रतिकेजी आठ सयमा बिक्री हुँदै आएको घ्यूको मूल्य रु एक हजार दुई सय, पनिर आठ सय र रु ८० मा बेच्दै आएको दही रु ९० पुगेको बताउँछन् ।
दूधको मूल्य बढाउन व्यवसायी नमानेको कारण किसान मारमा परेको उनीहरुको गुनासो रहेको छ । दुग्ध उद्योग क्षेत्रकोे विकासका लागि प्रदेश सरकार तथा पशु र कृषि कार्यालयले प्रोत्साहन गर्दै आएका छन् । तर अनुदान लिएका उद्योगी तथा व्यवसायीले यस क्षेत्रको विकास र विस्तारमा लगानी गर्न नसकेको स्थानीयवासीको भनाइ छ ।
सरकारले अनुदानको कार्यक्रम सञ्चालन गर्दा अनुगमन तथा प्राथमिकतालाई कडाइका साथ पालन गराउनु पर्ने आवश्यक रहेको उनीहरुको ठहर छ । उद्योगको विकास विस्तार गर्नुको सट्टामा व्यवसायी अनुदानमुखी बन्दा उद्योगको विकासभन्दा पनि व्यक्तिलाई मात्र लाभ पुगेको सरोकारवाला पक्षले बताउने गरेका छन् ।
समय÷समयमा यहाँका दुग्ध उद्योग तथा व्यवसायीहरुले विभिन्न ठाउँबाट अनुदान सहयोग पाएका छन् तर ती उद्योगहरुले खास उपयुक्त ढङ्गले यस क्षेत्रको विकासमा लगानी नगरेको स्थानीयवासीको भनाइ छ ।
बजारमा विभिन्न समयमा दूधको अभाव हुनुमा व्यवस्थापन राम्रो नभएको कृषकको भनाइ छ ।
प्रतिक्रिया