मुलुकभरका क्यासिनो चाडै सञ्चालन हुने

४ बर्ष अगाडि

काठमाडौं - कोरोना महामारीका कारण बन्द रहेका मुलुकभरका क्यासिनो सञ्चालनको तयारीमा व्यवसायी जुटेका छन् ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि जारी गरेको पछिल्लो निषेधाज्ञा हालै हटाएपछि व्यवसायीले क्यासिनो सञ्चालनका लागि तयारी गरेका हुन् । 

राजधानी काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारले भदौ १७ देखि निषेधाज्ञा हटाएसँगै अधिकांश क्यासिनो सञ्चालनका लागि व्यवसायीले तयारी गरेको क्यासिनो सञ्चालक सङ्घले जनाएको छ ।

व्यवसायीले एक÷दुई दिनभित्रै क्यासिनो सञ्चालनमा ल्याउने सङ्घका अध्यक्ष किशोर सिलवालले जानकारी दिए । नेपाली क्यासिनोको प्रमुख स्रोत बजार भारत हो । भारतबाट उल्लेख्य सङ्ख्यामा व्यापारी तथा उच्च घरानिय क्यासिनोको मनोरञ्जन लिन नेपाल आउछन् । 

नेपालको क्यासिनो बजारमा भारतीय ग्राहक नै हुन्छन् । क्यासिनोमा अधिकांश भारतीय व्यापारीले लगानी गरेका छन् । नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरिएको छ । 

कोरोना महामारीअघि पनि राजधानीका कतिपय क्यासिनो सञ्चालनमा थिएनन् लामो समयदेखि बक्यौता नतिरेकाले सञ्चालनमा रोक लगाइएको थियो । थोरै सङ्ख्यामा क्यासिनो खुले पनि महामारीले बन्द गर्नुपरेको थियो ।

राजधानी बाहिर पनि मिनि क्यासिनो सञ्चालनमा छन् । सरकारले क्यासिनो व्यवसायीलाई बक्यौता तथा रोयल्टी रकम तिर्न बारम्बार ताकेता गर्दै आएको छ । महामारीका कारण बक्यौता उठेको छैन । 

हाल मुलुकभर १५ भन्दा बढी क्यासिनो सञ्चालनमा छन् । दशवटा क्यासिनो अदालतको आदेशमा चलेका छन् भने केही प्रक्रियागत ढङ्गले चलेका छन् । राजधानीका पाँचतारे अधिकांश होटलमा क्यासिनो सञ्चालन छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया