काठमाडौं - पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तथा तरकारीलगायतका सामग्रीको अभाव हुन थालेको हो ।
वैकल्पिक मार्ग नभएका कारण गत शुक्रबारदेखि डिजेल र पेट्रोल बोकेका ट्यांकर पर्वतको मोदी गाउँपालिका–५ पातीचौरमा रोकिएका छन् । लामो समयका लागि सञ्चित गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायी बताउँछन् ।
खाद्यान्नलगायतका अन्य सामग्रीमा भने समस्या नरहेको व्यवसायीहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा उपचारका लागि पोखरा पुग्ने र अन्य काम विशेषले जानेहरु पर्वतको कार्कीनेटा हुँदै स्याङ्जाको बाटो आउजाउ गर्न थालेका छन् । बागलुङमा फलफुल र तरकारी बजारमा ठूलो मार परेको छ ।
स्थानीय उत्पादन कम हुने सिजन भएकाले धौलागिरिका बजार क्षेत्रमा तरकारीसमेत पोखराबाट आउने गरेको छ । सडक बन्द हुँदा स्थानीय उत्पादनले बजारको माग धान्न गाह्रो रहेको व्यवसायी कृष्णप्रसाद भट्टराईले बताए ।
घुमाउरो बाटोबाट ल्याइएका फलफुल तथा तरकारीबाट उपभोक्ता भने मारमा पर्ने छन् । अहिले बजारमा चलेको मूल्यभन्दा फलफुल तरकारीको मूल्य ढुवानीका कारण वृद्धि हुने उनले बताए ।
निर्यातमा पनि समस्या
पहिराका कारण सडक अवरुद्ध हुँदा बागलुङ, पर्वतलगायतका जिल्लाबाट उपभोग्य वस्तुको निर्यातमा समस्या भएको छ । मुस्ताङको आलु, बागलुङ ताराखोलाको आलु, खसीबोका र दूधको ढुवानीसमेत रोकिएको हो ।
बागलुङको दक्षिण क्षेत्रमा उत्पादन हुने दूध पोखरा पुग्थ्यो । पर्वतको फलेवास र कुश्मा नगरपालिकाका केही गाउँबाट समेत पोखरा निर्यात हुने दुध शुक्रबारदेखि रोकिएको छ । लामो समय उत्पादित वस्तु बजार पठाउन नपाउँदा किसान मर्कामा छन् ।
प्रतिक्रिया