गत वर्ष वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि, १५ खर्ब ३९ बढीको वस्तु आयात

४ बर्ष अगाडि

काठमाडौं-  नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार असार मसान्तसम्म कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएकोथियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ  क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धिभएको छ भने चीनततर्फको निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

गत वर्षमा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई रु.१५ खर्ब ३९ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.१ प्रतिशत, २८.६ प्रतिशत र १९.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, सुन लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ  तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ  तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई रु.१३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा निर्यात/आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया