नेपालमा अझै पेट्रोलियम पदार्थको मूल्य बढ्ने भारत सिमानामा कति छ मूल्य  ?

४ बर्ष अगाडि


केही समययता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिरजस्तो देखिएको छ।अलिअलि तलमाथि भइरहे पनि तत्काल नेपाली बजारमा प्रभाव पर्नेगरी त्यहाँ मूल्य वृद्धि नभएको नेपाल आयल निगम स्वयंले पनि स्वीकारेको छ। तर केही सातादेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेकोबढ्यै छ।

अहिले कच्चा तेलको मूल्य  प्रतिब्यारल अर्थात् प्रति १५९ लिटर - ७० डलरको हाराहारी छ।गत वर्ष असारमा ३८ डलरजति रहेको मूल्य यो वर्षको जेठमा ७२ सम्म पुगेको थियो।

सोमवार मध्यरातदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलमा प्रति लिटर दुई–दुई रुपैयाँ अनि ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ भाउ बढाएको छ।नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल प्रति लिटर ११३ रुपैयाँ अनि खाना पकाउने ग्यास प्रतिसिलिन्डर १४५० रुपैयाँ पुगेको छ।

निगमले यसअघि भाउ बढाएको डेढ महिना पनि भएको थिएन।'अझै पनि पेट्रोलमा निगमलाई प्रतिलिटर ८.४२ रुपैयाँ, डीजलमा २.६४ रुपैयाँ अनि खाना पकाउने ग्यास मा ४२० रुपैयाँ घाटा छ,' निगमका प्रवक्ता विनित उपाध्यायले  बताए।

पन्ध्र दिनमा पेट्रोल र डीजलमा १९–१९ करोड अनि ग्यासमा ६२ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

'निगमको घाटा निरन्तर रहने अनि डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन भइरहने हो भने आगामी दिनमा पनि मूल्य समायोजन गर्नुपर्ने बाध्यता देखिन्छ।'

उसै पनि सर्वसाधारणले पेट्रोलियम पदार्थको जति रकम तिर्छन् त्यसको ठूलो हिस्सा भ्याटसहित विभिन्न करले ओगट्ने गर्छ।

उदाहरणका निम्ति अहिले पेट्रोलको भाउ प्रतिलिटर १३० पुग्दा त्यसको खरिद मूल्य जम्मा ६९.५५ रुपैयाँ रहेको अनि मूल्यअभिवृद्धि करसहित विभिन्न कर गरी जम्मा राजस्व ५६.९८ रुपैयाँ रहेको उपाध्यायले बताए।'त्यसबाहेक निगमको खर्च आदिका निम्ति १.९० रुपैयाँ अनि ढुवानी, ब्याजजस्ता अन्य खर्चको हिसाब जोड्दा प्रति लिटर १३८.४२ रुपैयाँ पुग्ने हो, तर हामीले १३० मा बेचिरहेका छौँ,' उनले भने।

भारतमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा भन्दा बढी रहेको निगमले बताउँदै आएको छ।

उसले दिएको पछिल्लो विवरणअनुसार सिमाना पारी रक्सौलमा नेपालमा भन्दा पेट्रोल प्रत लिटर ४१ रुपैयाँ र डीजल प्रतिलिटर ४४ रुपैयाँले महँगो छ।

'हुन त हामीले सीमा वारपार रहेको मूल्यान्तरको आधारमा भाउ बढाउँदैनौँ, तर त्यसले सीमाक्षेत्रमा अस्वाभाविक खपत बढ्ने डर हुन्छ। त्यसैले हामीले सीमाको ५ किलोमिटर वरसम्मका पेट्रोल पम्पहरूको अनुगमन गरिरहेका छौँ,' उपाध्यायले बताए। बिबिसि 

४ बर्ष अगाडि

प्रतिक्रिया