काठमाडौं - कैलालीमा किसानको स्थानीय उत्पादन बिक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारी किन्न नसक्ने गरी मूल्य बढेको हो ।
कोरोनाका कारण गत वैशाखबाट बन्द भएका हाटबजार सञ्चालनमा आउन सकेको छैन । स्थानीय तरकारी उत्पादनमा कमी हुँदा बजार मूल्य धेरै तिर्नुपर्छ । सिजनल समयमा धेरै किसान तरकारी उत्पादनमा सहभागी हुन्छन् । यो समयमा धेरैले धानखेती गर्छन्, अझ उत्पादन भएको तरकारीसमेत बजारमा आउन पाएको छैन ।
जिल्लामा यो सिजनमा तरकारीमात्र होइन फलफूलको समेत मूल्य वृद्धि भएको छ । वर्षात्का सिजनमा स्थानीय क्षेत्रमा तरकारी उत्पादनमा कमी हुनुका साथै अन्य जिल्लाबाट तरकारी आयात हुने हुँदा तरकारीको मूल्य उच्च भएको उपभोक्ता माया चौधरीले बताए ।
अहिले जिल्लामा भारतीय बजारसँगै सुदूरपश्चिमको पहाडी इलाकाबाट तरकारी आयात हुने गरेको छ । पहाडी जिल्ला तथा भारतबाट आउने भएकाले तरकारीको मूल्य उच्च हुने गरेको स्थानीय तरकारी उत्पादक किसान बलीराम चौधरीले जानकारी दिए ।
ग्रामीण क्षेत्र उत्पादन केन्द्रित र शहर क्षेत्र तरकारीको खपत हुने क्षेत्रका रूपमा नभई सानो क्षेत्रमा करेसाबारी, कौशीखेतीको अवधारणाले तरकारी उत्पादनमा लाग्न सके तरकारीको उच्च मूल्यको मारबाट बच्न सकिने कृषि प्राविधिकको सुझाव छ ।
प्रतिक्रिया