दुई अर्ब लागतमा १२ तले प्लाजा निर्माणका लागि सम्झौता, महानगरले ८१ करोड  राजस्व प्राप्त गर्ने

४ बर्ष अगाडि

काठमाडौं - भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारीमा नारायणगढको लायन्स चोकमा १२ तले मेट्रो प्लाजा निर्माणका लागि निजी कम्पनीसँग सम्झौता गरेको छ । महानगरपालिका र आर्या बिल्डर्स एण्ड इञ्जिनीयरिङ प्रालिबीच भरतपुर मेट्रो प्लाजा निर्माणका लागि सम्झौता गरिएको हो ।

जिल्लाको प्रमुख शहर नारायणगढको मुख्य भागमा अवस्थित लायन्स चोकमा पाँच तारे होटलसहितको बहुउद्देश्यीय प्लाजा निर्माण गर्न लागिएको हो । महानगरपालिकाले सो ठाउँमा रहेको १० कठ्ठा जग्गा ३० वर्षका लागि आर्या बिल्डर्सलाई प्लाजा निर्माणका लागि दिने सम्झौता गरेको हो । यस अवधिमा महानगरले राजस्व रु ८१ करोड प्राप्त गर्ने छ भने त्यसपछिको स्वामित्व महानगरको हुनेछ ।

महानगरप्रमुख रेनु दाहालले देशमा नै पहिलोपटक सार्वजनिक निजी साझेदारी नमूनामा भरतपुरले महत्वपूर्ण काम गर्न सफल भएको बताए । परियोजना निर्माण तथा सञ्चालन सम्झौता निरन्तरको प्रयासपछि सम्पन भएको तथा यो परियोजना जिल्लाको समग्र विकासमा एक कोसेढुङ्गा सावित हुने उनको भनाइ छ ।

आर्या बिल्डर्स एन्ड इञ्जिनीयरिङका प्रबन्धक जीवन कँडेलका अनुसार भदौको पहिलो साताबाटै निर्माणको काम अगाडि बढाइने छ । महानगरसँग तीन वर्षभित्रमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । निर्धारित समयअघिनै परियोजना सम्पन्न गर्ने गरी कार्ययोजनाका साथ काम अगाडि बढाउने उनको भनाइ छ ।  निर्माणाधीन बहुतले भरतपुर मेट्रो प्लाजा दुई तला अन्डर ग्राउन्ड पार्किङसहित १६ तलाको हुनेछ । प्लाजा तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइको रहने छ ।
 
दुई तला बेसमेन्ट पार्किङको सुविधा हुने भवनमा पाँच तारे होटलदेखि सिनेमा हल, फुट कोर्टका साथै व्यावसायिकस्थल हुनेछन् । आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । प्लाजा निर्माणमा रु दुई अर्ब लागत लाग्ने अनुमान रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया