काठमाडौं - गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३.१४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयात निर्यात अर्थात वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६/७७ को तुलनामा १३ अर्ब ८८ करोड ३५ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा १३ अर्ब ४६ करोड ४ लाख रुपैयाँको सुन आयात भएको छ ।
परिमाणको आधारमा गत आवमा ३ हजार ९२४ केजी सुन आयात भएको थियो । परिमाणको आधारमा भने सुन आयात ६४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा २ हजार ४०० केजी सुन आयात भएको तथ्यांकमा उल्लेख छ ।
कोरोना महामारी तथा मूल्य बढ्दा अघिल्लो आवमा सुनको आयात ह्वात्तै घटेको थियो । आव २०७५/७६ मा साढे ३४ अर्ब रुपैयाँको भन्दा बढी सुनको आयात भएको थियो । त्यो अघिल्लो आवमा १३ अर्ब ४६ करोड रुपैयाँमा झरेको थियो । तर, गत आवमा भने सुनको आयात दोब्बर मात्रामा बढेको छ । यद्यपि, यो आव २०७५/७६ को तुलनामा भने कम नै हो ।
विशेषगरि गत आवमा कोरोना महामारी केही कम हुदा र सुनका गरगहनाको माग बढ्दा आयात पनि बढेको बताइएको छ । कोरोनाको दोस्रो लहरका कारण बैशाख र जेठमा निषेधाज्ञा लगाउँदा सुनका गरगहनाको व्यवसाय पनि ठप्प भयो । तर, अन्य समयमा सुनका गरगहनाको व्यवसाय राम्रो रहेको व्यवसायीहरू बताउँछन् । त्यसकै प्रभावले सुनको आयात बढेको बताइएको छ ।
यस्तै, गत असारमा मात्र भने नेपालमा औषत भन्दा बढी सुन आयात भएको छ । तथ्यांकअनुसार गत असार महिनामा मात्र रु. ६ अर्ब २७ करोड ६६ लाख बराबरको काचो सुन आयात भएको छ । नेपालमा मासिक औषतमा रु. ३ अर्बसम्म सुन आयात हुने गरेको पाइन्छ । तर, गत असारमा भने औषत भन्दा २ गुणा बढी अर्थात् ६ अर्ब २७ करोड बराबरको सुन आयात भएको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार असारमा ९०६ केजी ५०० ग्राम काचो सुन आयात भएको छ ।
नेपालमा वाणिज्य बैंकहरूलाई मात्र सुन आयात गर्ने अख्तियार छ । यद्यपि, उनीहरूले महासङ्घको सिफारिसमा सुन आयात गर्दै आएका छन् । उनीहरूले दैनिक २० केजीसम्म सुन आयात गर्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया