काठमाडौं - इजरायलमा हुने उन्नत जातको केराखेती झापामा शुरु भएको छ । झापा गाउँपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने उन्नत जातको ‘विलियम हाइब्रिड’ जातको केराखेती शुरु गरेका हुन् । झापामा पहिलोपटक भित्र्याइएको उक्त जातको केरा सुगन्धित र स्वादिलो हुने उनले बताए ।
“एउटै माटोमा दश वर्षसम्म खेती गर्न मिल्ने यो जातको केरामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ”, उहाँले भन्नुभयो, “ यो केराखेतीबाट १० वर्षसम्म आम्दानी लिन सकिन्छ, यो अन्य जातको केरामा हुँदैन ।” यो केरामा रोग कम लाग्ने भएकाले उत्पादन बढ्ने र उच्च लाभ मिल्ने उनको दाबी छ ।
विलियम केराको बोटको मध्यम उचाइ बढीमा दश फिटसम्मको र निकै मोटो गोलाइको हुन्छ । यसको बोट र पात गाढा हरियो हुन्छ । बस्नेतले अन्य युवाहरुको सहकार्यमा एग्रिसेन्टर झापा प्रालि कृषि फार्म सञ्चालन गरेका छन् ।
एग्रिसेन्टरमा उहाँसँगै डम्बर खनाल, पूजा खनाल, हरिकला कार्कीलगायत पाँच जनाको साझेदारी छ । रु २५ लाखबाट शुरु गरेको व्यवसायमा अहिले रु ७० लाख लगानी पुगिसकेको छ ।
सरकारी कोटामा स्थानीय कृषि सहकारी संस्थामार्फत कृषिसम्बन्धी ज्ञान हासिल गर्न ११ महिना इजरायल गएका बस्नेतले त्यहाँ केराखेतीसम्बन्धी सिकेको सीप र प्रविधिअनुसार नै आफ्नै गाउँठाउँमा केराखेती गरेको र त्यसबाट सफलता प्राप्त हुँदै गएको उल्लेख गरे ।
प्रतिक्रिया