काठमाडौं - नेपालको वैदेशिक व्यापार घाटा नेपालकै वार्षिक बजेटको हाराहारीमा पुगेको छ । अझ आर्थिक वर्ष २०७७/०७८ मा त संशोधित बजेटभन्दा नेपालको वैदेशिक व्यापार बढी देखिएको छ ।
नेपालको वैदेशिक व्यापार १५ खर्ब ३९ अर्ब रुपैयाँको भएको भन्सार विभागको तथ्याङ्कमा छ । यो भनेको अघिल्लो वर्षको तुलनामा झन्डै ३० प्रतिशतले बढी हो । यसमा व्यापार घाटा नै १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।
जुन गत वर्षको संशोधित बजेटभन्दा बढी हो । नेपालमा व्यापार घाटा बढ्दै जानुले नेपालको परनिर्भरता पुष्टि गर्ने विज्ञहरूले बताएका छन् । गत आर्थिक वर्ष १४ खर्ब ११ अर्ब रुपैयाँको बराबरको वस्तु तथा सेवा आयात भएको छ भने एक खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा आयात निर्यात इतिहासकै उच्च भएको हो । निर्यातमा समेत वृद्धि भए पनि आयातको तुलनामा भने ज्यादै न्यून निर्यातको अवस्था हो । गत वर्ष निर्यात ४४.४३ प्रतिशतले बढेको छ । कुल निर्यातको झन्डै ५० प्रतिशत निर्यात वनस्पतिजन्य तेलको भएको विभागले भनेको छ ।
१९ देशसँगको व्यापार नाफामा
नेपालले असाध्यै न्यून मात्र आयात तथा निर्यात गर्ने १९ देशसँग भने नेपालको वैदेशिक व्यापार नाफामा छ ।
यमन, त्रिनिदाद, सिरियन अरब रिपब्लिक, सामोअ, न्यु क्यालेडोनिया, मोन्टेनेग्रो, मंगोलिया, मौरिसस, माल्दिभ्स, लेबनान, किर्गिजिस्तान, होण्डुरस, फिजि, एस्टोनिया, कंगो, चद, बोस्निया, बाहमास, अर्मेनिया, अंगुलिया लगायतसँगको वैदेशिक व्यापार नाफामा रहेको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया