कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ ।
महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए । कम्पनीमा रहेको चार हजार ८०० क्विन्टल चामल बिक्री भइसकेको छ । निषेधाज्ञामा स्थानीयवासीले चामल बढी किनेर लिएकाले मौज्दात रहेको चामलसमेत सकिएको प्रमुख ओझाले जानकारी दिए ।
खाद्यमा चामल सकिएको दुुई दिन भएको र अहिले बिक्री गर्न चामल नरहेको प्रमुख ओझाले स्वीकार गरे । जिल्ला कारगारमा रहेका कैदीलाई खाना खुवाउनका लागि चाहिने ५० क्विन्टल चामलमात्र रहेको र सर्वसाधारणलाई बिक्री गर्न मौज्दात चामल नभएको उनि बताउछन् ।
सदरमुकाम आउने सडकको अवस्था राम्रो नभएकाले ठेकेदारले चामल ढुवानी गर्न नसकेको ओझाको भनाइ छ । साँफे–मार्तडी सडकको अवस्था नाजुक भएकाले वर्षा आउन रोकिएपछि एक साताभित्र चामल मार्तडीमा आइपुग्ने ओझाले जानकारी दिए ।
खाद्य संस्थानका लागि तीन हजार ५०० क्विन्टल चामलको कोटा थप गरेर धनगढी र महेन्द्रनगरबाट आउन लागेको भए पनि बाटोको समस्याका कारण रोकिएको छ । संस्थानले मोटो चामल प्रतिकिलो रु ४५ र जिरा मसिनो प्रतिकिलो रु ६६ मा बिक्री गर्दै आइरहेको थियो ।
प्रतिक्रिया