काठमाडौं - चालु आर्थिक वर्षको ९ महिनामा विभिन्न देशबाट २८ अर्ब रूपैयाँ बराबरको तरकारी नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्याङकले यस्तो देखाएको हो ।
विभागको तथ्याङ्क अनुसार नौ महिनामा भारतबाट मात्रै २१ करोड ४२ लाख ४६ हजार ६९९ केजी आलु नेपाल भित्रिएको छ । यस्तै बंगलादेशबाट १ करोड ३५ लाख ७५ हजार केजी आलु नेपाल भित्रिएको छ । साथै चीन र इन्डोनिसियाबाट पनि आलु आयात भएको छ ।
यसैगरी, चालु आर्थिक वर्षको ९ महिनामा भारतलगायत अन्य देशहरुबाट ८ करोड ८८ लाख ८६ हजार ८८३ किलो प्याज नेपाल भित्रिएको छ । सबैभन्दा बढी भारतबाट प्याज आयात हुन्छ भने इजिप्ट, चीन, टर्कीबाट पनि ल्याउने गरिन्छ ।
प्याज खरिदमा ३ अर्ब ४३ करोड ३२ लाख २१ हजार रूपैयाँ बाहिरिएको छ । सोही अवधिमा चीन र भारतबाट हरियो र सुकेको लसुन एक करोड १७ लाख केजी आयात भएको छ । लसुन भने भारतको तुलनामा चीनबाट बढी भित्रिएको छ । लसुनका लागि नेपालले नौं महिनामा एक अर्ब २८ करोड रुपैयाँ खर्चिएको छ ।
हरियो तरकारी ९ महिनामा सबैभन्दा धेरै फूलकोपी ९काउली० नेपाल भित्रिएको छ । सो अवधिमा काउलीमात्र २१ लाख केजी आयात भएको छ । भेडे खुर्सानी २० लाख केजी, फर्सी १८ लाख केजी, सुख्खा खालका तरकारी सरदरमा ७२ लाख केजी नौं महिनामा नेपाल भित्रिएको छ ।
यसैगरी, गाजर, मुला, सलगम, बन्दाकोपी, मुला, काक्रो १७ लाख ११ हजार १८७ केजी, हरियो केराउ ८ लाख ८० हजार केजी आयात भएको छ । यो नौं महिनामा तरकारी आयातमा मात्र २७ अर्ब ५६ करोड ३७ लाख ११ हजार रूपैयाँ व्यापार घाटा भएको छ ।
प्रतिक्रिया