कर तिर्ने समय थप गर्न माग

४ बर्ष अगाडि

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको नया भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई वुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसंग अनुरोध गरेको छ।

महासंघले मंगलबार सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई मनन गरी मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको हो ।

कोरोना महामारिका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण वुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुंदा समय थप गर्न महासंघले आग्रह गरेको हो ।

अघिल्लो वर्षमा भएको लामो लकडाउन पछि तङग्रिन सुरु गरेको व्यापार व्यवसाय कोरोनाको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको छ । सार्वजनिक यातायातको संचालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा संचालनमा आउन सकेका छैनन भने चलेका पनि अत्यन्त कम क्षमतामा संचालित छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया