काठमाडौं - पछिल्लो समय बजारमा कुखुराको मासुको मूल्य अस्वाभाविक रुपमा महंगिएको छ । गत वर्ष वैशाख महिनामा प्रतिकेजी २ सय रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ५० रुपैयाँ पुगेको हो ।
कुखुराका चल्ला उत्पादन कम भएपछि एक वर्षको अवधिमा बजारमा मासुको मूल्य दोब्बर भन्दा बढीले वृद्धि भएको हो । कोरोना भाइरसको संक्रमण गर्न गत वर्ष चैत ११ गतेदेखि लामो समयसम्म लकडाउन भएपछि प्यारेन्ट माउ ल्याउन नसक्दा त्यसको असर उत्पादन र मूल्यमा देखिएको हो ।
यो सँगै कखुरालाई खुवाउने दानाको मूल्य पनि आकासिएको छ । दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा यसको दानाको मूल्य बढेको हो ।
गत फागुन २६ गते प्रतिकिलो दानाको मूल्य २ रुपैयाँका दरले बढाएको नेपाल दाना उद्योग संघले गत आइतवारदेखि प्रतिकिलो ३ रुपैयाँका दरले बढाएको छ । यसअघि फागुनमा बढाइएको मूल्यअनुसार बी जिरो दाना प्रतिकिलो ६५ रुपैयाँ थियो भने अहिले ६८ रुपैयाँ पुगेको छ ।
त्यसैगरी बी वान दानाको मूल्य प्रतिकिलो ६४ रुपैयाँबाट बढेर ६७ रुपैयाँ र बी टु दानाको मूल्य प्रतिकिलो ६३ रुपैयाँबाट बढेर ६६ रुपैयाँ पुगेको संघले बताएको छ । नेपाली पोल्ट्री उद्योगको इतिहासमै दानाको मूल्य यति धेरै बढेको सरोकारवालाहरूको भनाइ छ ।
यसअघि ७० रुपैयाँ प्रतिकिलो रहेको भटमासको मूल्य महीनामै ४८ रुपैयाँले बढेर अहिले ११८ रुपैयाँसम्म पुगेको छ । त्यसैगरी ८० रुपैयाँ पर्ने सोयाको मूल्य बढेर ११२ रुपैयाँ प्रतिकिलो छ भने ९० रुपैयाँ पर्ने सोयाको मूल्य बढेर ११८ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
प्रतिक्रिया