भन्सारलाई ढाँटेपछि ६ करोड ५३ लाख रुपैयाँ जरिबाना

४ बर्ष अगाडि

काठमाडाैं । भन्सार कार्यालयलाई ढाँटेपछि  तिरुपति ग्लास कम्पनीलाई ६ करोड ५३ लाख जरिवाना तिर्नुपर्ने भएको छ । 

कम्पनीले आफूले घोषणा गरेको भन्दा बढी परिमाण र मोटाइको टफन (प्रशोधन गरिएको सिसा) आयात गरेर कर छली गरेको पुष्टि भएपछि सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाले सो जरिवाना गरेको हो । 

रबी अग्रवालको तिरुपति ग्लास उद्योगले आयात गरेको उक्त टफन सिसाको प्रकार र परिमाण भन्सार घोषणामा झुक्याउन खोजिएको भन्सार कार्यालयले जनाएको छ ।

सो कम्पनीले भन्सार घोषणामा चार एमएम भनिरे ल्याएको ग्लास भन्सारले छड्के जाँचको क्रममा पाँच एमएमको र घोषणामा ११ हजार १६ स्क्वायर मिटर भनिएको सिसाको परिमाण १७ हजार ५०३ स्कवायर मिटर पाइएको थियो ।

बालाजी ग्लासले यस अघि यसैगरी भन्सार छली गरेको विषयमा अनुसन्धान हुँदै जाँदा तिरुपति पनि छानबिनको दायारमा परेको थियो । भन्सार जाँच पास भएर १९ लाख २२ हजार राजश्वसमेत तिरीसकेपछि भन्सारले पुनः तिरुपतिको माल वस्तु जाँच गर्दा ढाँढेको फेला परेपछि चैत २६ गते कम्पनीलाई जरिबानाको निर्णय भएको हो । 

भन्सार कार्यालयका सूचना अधिकारी चुडामणि कट्टेलका अनुसार कम्पनीलाई भन्सार ऐनअनुसार पाँच सय प्रतिशत जरिवाना गरिएको हो । ‘भन्सार छल्ने नियतका साथ घोषणा गरिए भन्दा धेरै परिमाणमा सामान आयात गरेको देखियो, भन्सार ऐनअनुसार कम्पनीलाई पाँच सय प्रतिशत जरिवाना गरियो,’ कट्टेलले भने । 

यसअघि बालाजी ग्यास प्रालिले कर छली गर्ने नियतले सिसाको डकुमेन्ट बुझाएको फेला परेपछि वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले ५ सय प्रतिशत जरिवाना गरेको थियो । 

बालाजीले १२ फेब्रअरी २०२१ मा प्रज्ञापनपत्र नम्बर ३४७८ अन्तर्गत ३५७२ स्क्वायर मिटर घोषणा गरेको छ । उक्त कन्टेनरमा ल्याइएको सिसा जाँचपास गर्दा ५ सय ३५ स्क्वायर मिटर बढी ल्याइएको फेला परेको थियो । कर छली गर्ने उक्त उद्योगलाई कार्यालयले ९२ लाख ९६ हजार १ सय ३ रुपैयाँ जरिवाना तिराएको थियो । 

बार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने टफन ग्लासको आयात गर्दा आयातकर्ताले भन्सारका अधिकारीसँगको सेटिङ्गमा भन्सार छल्दै आएका थिए ।  

सरकारले कच्चा र टफन सिसाको भन्सार मूल्य बराबरी ३० प्रतिशत नै तोकेको छ । कच्चा सिसालाई प्रशोधन गरेपछि टफन सिसा बन्छ । तर, नेपालमा प्रशोधन गरिएको सिसा नै भन्सार छलेर १५  प्रतिशतमा धमाधम नेपाल भित्रिने गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया