कैलालीमा विनादर्ता वर्षौंदेखि सञ्चालनमा रहेका भुसी इँटाभट्टा (उद्योग)लाई दर्ता गरी आधुनिक उद्योगमा रुपान्तरण गर्ने काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । औद्योगिक प्रवद्र्धन बोर्डले गरेको परिपत्रबमोजिम घरेलु तथा साना उद्योग कार्यालयले विगतमा भुसी इँटा उद्योगलाई दर्ता गरी आधुनिक उद्योगमा रुपान्तरण गर्न पहल गरेको थियो ।
यस क्रममा जिल्लाका झण्डै ४५ भुसी इँटा उद्योगका सञ्चालकले उद्योग दर्ताका लागि कार्यालयमा निवेदन दिएका थिए । यीमध्ये ३५ सञ्चालकले अनुमतिपत्र (लाइसेन्स) लिए पनि अझै धेरैले अनुमतिपत्र नलिइ उद्योग सञ्चालन गर्दै आएको बताइन्छ ।
कार्यालयमा विगतमा कतिपय भुसी इँटा उद्योग दर्ता प्रक्रियामा आए पनि यस्ता केकति उद्योग आधुनिक उद्योगमा रुपान्तरण भए नभएको बारेका जानकारी नभएको कार्यालयका प्रमुख नवराज भट्टले बताए । उनले भने, “स्थानीय तहलाई आफ्नो क्षेत्रमा यस्ता उद्योग दर्ता भए÷नभएको, सञ्चालनको अवस्था र ती उद्योग आधुनिक उद्योगमा रुपान्तरण भए नभएकाबारे कार्यालयलाई जानकारी गराउन पत्र पठाइएको छ ।”
यस्ता उद्योगलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न सञ्चालकले त्यति चासो नदेखाएका कारण आधुनिक उद्योगमा रुपान्तरणमा लैजान समस्या देखिएको बताइएको छ । औद्योगिक व्यवसाय ऐन २०४९ मा घरेलु उद्योग स्थापना भएको छ महिनाभित्र दर्ता गरिसक्नुपर्ने, घरेलुबाहेकका अन्य उद्योग दर्ता नगरी स्थापना गर्न नपाइने, सुर्ती, चुरोट र मदिराजन्यजस्ता उद्योग अनुमति लिएर मात्र स्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने कानूनी व्यवस्था गरिएको छ ।
अवैधरूपमा विनामापदण्ड भुसी इँटा उद्योग जहाँ पायो त्यहीँ सञ्चालन गर्ने प्रवृत्ति बढ्दै जाँदा यी उद्योगबाट आउने धुवाँ धुलोका कारण वातावरण प्रदूषित हुने गरेको जनगुनासो पनि बेलाबखत सुनिने गरेको छ ।
यद्यपि चिम्नी इँटा उद्योगमा प्रयोग हुने खनिजतत्व कोइला, दाउरा आफूहरूले प्रयोग नगरी केवल जैविक भुसी (धानको भुस)प्रयोग गर्ने गरेकाले यस्ता उद्योगबाट वातावरण प्रदूषण नहुने दाबी भुसी इँटा उद्योगकका सञ्चालकको छ ।
इँटा व्यवसायी सङ्घ कैलालीका अध्यक्ष विनोद साह भने अवैध र निर्वाधरूपमा भुसी इँटा उद्योग सञ्चालन भइरहँदा पनि नियमनकारी निकाय उदासिन बनेको बताछन् । उनले भने, “उनीहरूले कर पनि तिर्नु पर्दैन, दारु भट्टी चले जस्तै चलिरहेका छन् ।”
जिल्लामा झण्डै ६० भन्दाबढी भुसी इँटाभट्टा सञ्चालनमा रहेको अनुमान गरिएको छ । वातावरणीय परीक्षण गरी सञ्चालनमा रहेका आधुनिक प्रविधिका चिम्नी इँटा उद्योगमा वातावरणीय परीक्षणअनुसार काम भए÷नभएकाबारे अनुगमन पनि हुन पनि सकिरहेको छैन ।
जसका कारण कतिपय चिम्नी इँटा उद्योग मानवबस्ती नजिकै सञ्चालनमा आउँदा त्यसबाट आउने धुवाँ, धुलोले मानव बस्तीमा प्रतिकूल प्रभाव पारेको गुनासो आउने गरेको छ । कैलालीमा ४२ सहित सुदूरपश्चिम प्रदेशभर ८० वटा आधुनिक चिम्नी इँटा उद्योग सञ्चालनमा रहेको जनाइएको छ । यी उद्योगमा नेपाली मजदूरका अलावा प्रत्येक उद्योगमा कम्तीमा पनि ३० देखि ४० प्रतिशतका दरले भारतीय मजदूर पनि कार्यरत रहने गरेका छन् ।
प्रतिक्रिया