काठमाडौं - जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ ।
नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ ।
यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको शुरुआतीका रुपमा लिने गरेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताए ।
हरेक वर्ष चैत १२ गते बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्ना छर्ने गरिन्छ ।
चैत १२ गतेलाई यहाँको परम्परागत चलनअनुसार ‘बारुवा’ पनि भनिने गरेको चन्दननाथ नगरपालिका–१० का स्थानीयवासी विष्णु भण्डारीले बताए ।
तिला गाउँपालिका–१ स्थानीयवासी माने रावतका अनुसार चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ । मार्सी धान विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गरिन्छ ।
यसको रातो भातकोे खीर निकै स्वादिलो हुन्छ । घरका सबै दिदिबहिनी एक आपसमा चिउरा कुट्ने चलन छ । यो चलन विस्तारै लोप हुँदै गरेको स्थानीयवासी रावतले बताए ।
जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले जानकारी दिए ।
प्रतिक्रिया