कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार ४२७ नयाँ उद्योग दर्ता भइसकेका छन् ।
आव २०७५र७६ मा एक हजार २३४ र गत आव २०७६र७७ मा एक हजार ११४ उद्योग दर्ता भएकामा चालु वर्षको आठ महिनामा नयाँ उद्योग दर्ता भएका हुन् । नयाँ दर्ता हुने उद्योगमा उत्पादनका २६७, कृषिका एक हजार ५९५, सेवाका ५६३ र पर्यटनका दुई छन् ।
जिल्लामा आव २०७७र७८ को फागुन महिनासम्म दर्ता भएका उद्योगहरूमा रु १६ अर्ब ७६ करोड ८० लाख लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादनमूलक उद्योगमा रु छ अर्ब तीन करोड ८० लाख लगानी प्रस्ताव गरिएको छ ।
यस्तै कृषिमूलक पाँच अर्ब ८२ करोड ४० लाख, सेवामूलक रु चार अर्ब ६५ करोड सात लाख, पर्यटनमूलक रु २४ करोड ७० लाख र निर्माणमूलक उद्योगमा रु ३० लाख लगानी प्रस्ताव गरिएको छ । वार्षिक उत्पादन क्षमता झण्डै रु ६८ अर्ब ६६ करोड बराबर रहेको प्रस्ताव गरिएको यी उद्योगबाट ६५ हजार ३८० जनाका लागि रोजगारी सिर्जना भएको जनाइएको छ ।
कार्यालय स्थापना भएदेखि हालसम्म जम्मा ११ हजार ६८ वटा उद्योग दर्ता भइसकेका छन् । दर्ता भएकामध्ये झण्डै ६० प्रतिशत उद्योग सञ्चालनमा रहेको अनुमान गरिएको छ । अनुगमन निरीक्षण नगरी नहुने उद्योगको अनुगमन गर्ने गरिएकामा जनशक्तिलगायत साधन स्रोतको अभावमा सबै उद्योगको निरीक्षण अनुगमन हुन सकिरहेको छैन ।
प्रतिक्रिया