४० करोड लगानीमा खुल्यो 'हिमाल दृश्य रिसोर्ट'

४ बर्ष अगाडि

काठमाडौं - राजधानी काठमाडौंदेखि ३० किलोमिटरको दूरीमा रहेको धुलिखेलमा हिमालय दृश्य रिसोर्ट सञ्चालनमा आएको छ । 

कोरोनाले सबैभन्दा बढी पर्यटन क्षेत्र थलिएका वेला धुलिखेलमा सञ्चालनमा आएको उक्त हिमालय दृश्य रिसोर्टमा ४० करोड लगानी भएको छ । 

रिसोर्टमा सांसद एवं लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष उमेश श्रेष्ठ, पर्यटन व्यवसायी सिबी थापा, श्यामकाजी महत र अशोक श्रेष्ठको लगानी रहेको छ  । 

कुल १८ रोपनी क्षेत्रफलमध्ये १३ रोपनीमा निर्माण भएको छ । बाँकी क्षेत्रमा बालबालिकाका लागि फनपार्कलगायत अन्य पूर्वाधार बनाउने तयारी भइरहेको बताइएको छ । 

गत दसैँमा सञ्चालनमा ल्याउने लक्ष्य राखेर निर्माण सुरु गरिएको रिसोर्ट कोभिड–१९ का कारण ढिलाइ भएको हो । 

४३ कोठा रहेको रिसोर्टमा दुईवटा सुइट रुम छन् । दुईवटा रेस्टुरेन्ट, साउना, ज्याकुजी, योगा, स्विमिङ पुललगायतका सुविधा रहेको छ। रिसोर्टमा ३ सय ५० देखि ३ सय ७५ जना अट्ने दुईवटा सेमिनार हल छन् । 

नेपाली कला र संस्कृति झल्किने गरी रिसोर्ट निर्माण गरिएको बताइएको छ ।  रिसोर्टमा प्रकृति झल्काउने चित्रकला, ढुंगेधारा, काष्ठकलालाई प्राथमिकता दिइएको छ । 

रिसोर्टमा रहेका ४३ वटै कोठाबाट गणेश हिमाल, गौरीशंकर हिमाल, अन्नपूर्ण हिमाल, लाङटाङ सहितका अति मनोरम हिमालहरुका दृश्यावलोकन गर्न सकिने बताइएको छ । 

अहिले विदेशी पर्यटक नआएकाले स्वदेशीलाई प्राथमिकतामा राखिएको छ । जसका लागि ५ हजार रुपैयाँमा दुईजनालाई प्याकेजका रूपमा कोठा बिक्री गरिएको छ । 

रिसोर्टका लागि अर्गानिक तरकारी उत्पादन गर्न थप पाँच रोपनी जग्गा खरिद गरिसकेको पनि बताइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया