सुनसहित पाँच बस्तुको आयात वृद्धि, सबभन्दा धेरै कुन ?

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ७ महिनामा पाँचवटा बस्तुको आयात बढेको छ । अर्थ मन्त्रालयको अर्थ बुलेटिनको माघ महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
 
तथ्याङ्क अनुसार आयात बढ्ने बस्तुहरूमा भटमासको तेल कच्चा, मोबाइल टेलिफोन, सुन, एम.एस.विलेट र चामल रहेको छ ।
 
जसमा चालु आर्थिक वर्षको ७ महिनामा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको भटमासको तेल कच्चा विभिन्न देशहरूबाट नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा ९ अर्ब ६६ करोड रुपैयाँ बराबरको मात्र भटमासको तेल कच्चा नेपाल भित्रिएको थियो । गत वर्षको तुलनामा यसको आयात यो वर्ष ११७.२ प्रतिशतले वृद्धि भएको हो । 

त्यस्तै समीक्षा अवधिमा १४ अर्ब १ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । गत वर्षको सोही अवधिमा ९ अर्ब १९ करोड रुपैयाँ बराबरको मात्र सुन नेपालमा विभिन्न देशहरूका भित्रिएको थियो । गत वर्षको तुलनामा यो वर्ष सुन आयातमा ६३.४ प्रतिशतले बढेको छ । 

मोबाइल टेलिफोन आयातमा ८४.७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनामा विभिन्न देशहरूबाट २४ अर्ब ६ करोड रुपैयाँ बराबरको मोबाइल टेलिफोन नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा १३ अर्ब ३ करोड रुपैयाँ बराबरको मोबाइल भित्रिएको थियो ।
 
चालु आर्थिक वर्षको माघ महिना सम्ममा ३८ अर्ब १३ करोड रुपैयाँ बराबरको एम।एस।विलेटको आयात भएको छ । गत वर्षको सोही अवधिमा २७ अर्ब २७ करोड रुपैयाँ बराबरको एम।एस।विलेट आयात भएको थियो । यो गत वर्षको तुलनामा यो वर्ष ३९.८ प्रतिशतले वृद्धि भएको छ । 

साथै चामल आयातमा पनि ३६.२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनामा विभिन्न देशहरूबाट १७ अर्ब ३० करोड रुपैयाँ बराबरको चामल नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा १२ अर्ब ७० करोड रुपैयाँ बराबरको चामल नेपाल भित्रिएको अर्थ बुलेटिनको तथ्याङ्कले देखाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया