काठमाडौंका पाँचतारे होटलले ३५ प्रतिशत कर्मचारी विदा गरे, पुराना हटाएर नयाँ थप्ने तयारी

४ बर्ष अगाडि

काठमाडौं। काठमाडौंका ठूला होटलहरुले ३५ प्रतिशत कर्मचारी निकालेका छन् । कोभिड–१९ का कारण होटल व्यवसायले ठूलो नोक्सानी व्यहोर्नुपरेको र बन्दगर्नुपर्ने अबस्था आएको भन्दै पाँचतारे होटलहरुले ३५ प्रतिशत कर्मचारीको विदाइ गरेको  होटल संघ नेपालले जनाएको छ ।  

कोभिडकै बाहनामा ५० वर्ष पुरानो होटल अन्नपूर्ण बन्द गर्ने निर्णय गर्दै व्यवस्थापनले कर्मचारीहरुलाई निकालेको छ । होटलमा कुल ३ सय ६० जना कर्मचारीमध्ये २ सय ६० भन्दा बढी स्थायी कर्मचारी थिए । होटलमा स्थापनाकालदेखि काम गरेका कर्मचारीकोे तलब १ लाख नाघिसकेको तर उनीहरु अहिलेको समयमा प्रतिस्पर्धी बन्न नसकेको  सञ्चालक सिर्जना राणाले बताएकी थिइन् । 

श्रम ऐनका कारण उनीहरूलाई हटाउन पनि कठिन भएकोले कोभिडको कारण होटल बन्दगर्नुपर्ने अनुकुल मौका भएको उनको भनाई थियो । 

चार सय जनाभन्दा बढी कर्मचारी रहेको काठमाडौंकै होटल सोल्टीले डेढ सय जना कर्मचारीलाई विदा गरेको छ ।  भीआरएस योजना ल्याएर कर्मचारीलाई अवकाश दिइएको होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले बताइ । उनका अनुसार करारका कर्मचारीले भने पहिले नै अवकाश पाइसकेका थिए । 

दरबारमार्गमै रहेको होटल याक एण्ड यतिले ६० जना कर्मचारीलाई अवकाश दिएको छ ।  होटलका मानव संसाधन प्रबन्धक विजय प्याकुरेलका अनुसार कोभिडका कारण होटलको बिजनेस पुरानै अवस्थामा आउन केही समय लाग्ने देखिएकाले कर्मचारीलाई अवकाश दिइएको हो । 

लाजिम्पाटमा रहेको होटल र्‍याडिसनले पनि ६७ कर्मचारीलाई अवकाश दिएको छ। अझै तीन सय कर्मचारी बाँकी रहेको होटलका मानव संशाधन विभागका निर्देशक किरण पन्तले बताए ।

पर्यटन क्षेत्र बाउन्स ब्याक भएको अवस्थामा पनि होटलमा अब कम कर्मचारी राखेर संचालन गर्ने मनस्थितिमा व्यवसायी पुगेका छन्।

होटलहरुले पुराना कर्मचारी निकालेर नयाँ र एकैजनाले धेरै काम गर्नेगरी कर्मचारी राख्ने तयारी गरेका छन् । ‘एउटै कर्मचारीले धेरै काम गर्नसक्ने गरी तालिम दिएर मल्टी स्किल्ड जनशक्ति राख्ने सोल्टी होटलका उपाध्यक्ष चापागाइँको भनाई छ । ‘त्यो हुँदा कर्मचारी धेरै कम भए पनि पुग्छ, होटलको संचालन खर्च कम हुन्छ’ उनले भने ‘होटल पूर्णरूपमा संचालन आए पनि हामीले ७५ प्रतिशत मात्रै कर्मचारी राखेर चलाउँछौं ।’  

पहिला विद्युत,प्लम्बिङ लगायतका कामका लागि भिन्न भिन्न जनशक्ति रहेकोले अब अब हयाण्डी म्यान (प्लम्बिङ, विद्युतीय, कार्पेन्टर लगायत सबै मर्मत सम्भार गर्न सक्ने जनशक्त) नियुक्ति गर्ने योजनामा रहेको याक एण्ड यतिका मानव संसाधन प्रबन्धक प्याकुरेल बताउँछन् । 

कोभिडका कारण होटल क्षेत्रमा ठूलो नोक्सानी भएकोले उनीहरुलाई तङिग्रन लामो समय लाग्न सक्छ । तर सञ्चालकहरुले सरकारी तवरबाट राहतका कार्यक्रम ल्याएर पुनर्जीवन दिनुपर्नेमा कर्मचारी निकाल्ने मौकाको रुपमा उपयोग गरेका छन् । 

पहिला पहिला कर्मचारी हटाउँदा व्यवस्थापन र ट्रेड युनियनबीच ठूलो द्वन्द चल्ने र, होटल नै बन्दसमेत हुने अबस्था आउने भएकोले अहिले भने धमाधम कर्मचारी अवकाश दिइएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया