१० बस्तुको निर्यातबाट ६ खर्ब ९ अर्ब ९१ करोड आम्दानी

४ बर्ष अगाडि

काठमाडौं - नेपाले गएको ७ महिनामा प्रमुख १० बस्तुको निर्यात बाट ६ खर्ब ९ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गरेको छ । अर्थ मन्त्रालयको अर्थ बुलेटिनको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको साउन महिनादेखि माघ महिना सम्ममा नेपालले प्रमुख १० वस्तुहरु प्रशोधित भटमासको तेल, सेन्थेटिक यार्न, अलैँची, उनी गलैँचा कार्पेट, तयारी कपडा, चिया, जमोठ कपडा, जुटका बुनिएका कपडा, उनी सुतीको बाहेक अन्य कपडा, र फलफूलको जुस निर्यातबाट आम्दानी गरेको हो ।

साथै गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष प्रमुख १० वस्तुहरूको निर्यात ७.६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ६ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँको वस्तुहरू विभिन्न देशमा निर्यात भएको थियो । 

जस मध्ये सात महिनामा सबभन्दा धेरै १ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल निकासी भएको छ । तग वर्षको सोही अवधिमा ५ अर्ब ९४ करोड रुपैयाँ बराबरको मात्र निकासी भएको थियो । गत वर्ष तुलनामा यो वर्ष भटमासको तेल निकासीमा २२९.५ प्रतिशतले वृद्धि भएको छ । 

त्यस्तै चालु आर्थिक वर्षको सात महिनामा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेन्थेटिक यार्न विभिन्न देशमा निकासी भएको छ । तर, गत वर्षको तुलना यो वर्ष सेन्थेटिक यार्न निकासीमा १२.८ प्रतिशतले घटेको छ । तग वर्षको सोही अवधिमा ५ अर्ब १२ करोड रुपैयाँ  बराबरको निकासी भएको थियो । 

अलैँची निकासीमा भने गत वर्षको तुलनामा यो वर्ष ४८.८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सात महिनामा २ अर्ब ८७ करोड रुपैयाँ बराबरको अलैँची निकासी भएको थियो । तर यो वर्ष भने ४ अर्ब २८ करोड रुपैयाँ बराबरको अलैँची नेपालबाट विभिन्न देशमा निकासी भएको छ । 

साथै ४ अर्ब १७ करोड रुपैयाँ बराबरको उनी गलैँचा कार्पेट निकासी भएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको उनी गलैँचा कार्पेट निकासी भएको थियो । गत वर्षको तुलनामा यो निकासी २.५ प्रतिशतले घटेको छ । 

तयारी कपडाको निकासी पनि गत वर्षको तुलनामा यो वर्ष २.२ प्रतिशतले घटेको छ । गत वर्ष ३ अर्ब ३० करोड रुपैयाँ बराबरको तयारी कपडा निकासी भएको थियो भने यो वर्ष ३ अर्ब २३ करोड रुपैयाँ बराबरको मात्र तयारी कपडा निकासी भएको छ । 

चालु आवको ७ महिनामा नेपालबाट विभिन्न देशहरूमा २ अर्ब ४७ करोड रुपैयाँ बराबरको चिया निकासी भएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ९३ करोड रुपैयाँ बराबरको चिया निकासी भएको थियो । गत वर्षको तुलनामा यो वर्ष चिया निकासी ६३.७ प्रतिशतले वृद्धि भएको छ । 

जमोठको कपडाको निकासी पनि गत वर्षको तुलनामा यो वर्ष ६३.७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ अर्ब ५१ करोड रुपैयाँ बराबरको जमोठको कपडा निकासी भएको थियो भने यो वर्ष २ अर्ब ९३ करोड रुपैयाँ बराबरको निकासी भएको छ । 

त्यस्तै जुटका बुनिएका कपडाको निकासीमा पनि वृद्धि भएको छ । चालु आवको माघ महिना सम्ममा २ अर्ब ३७ करोड रुपैयाँ बराबरको जुटका बुनिएका कपडाको निकासी भएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ९४ करोड रुपैयाँ बराबरको निकासी भएको थियो । गत वर्षको तुलनामा यो वर्ष जुटका बुनिएका कपडाको निकासी २२.५ प्रतिशतले वृद्ध भएको हो । 

चालु आवको ७ महिनामा उनी सुती बाहेकका अन्य कपडाको निकासी १ अर्ब ९६ करोड रुपैयाँ बराबरको निकासी भएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ९७ करोड रुपैयाँ बराबरको निकासी भएको थियो । गत वर्षको तुलनामा यो वर्ष ०.५ प्रतिशतले घटेको छ । 

गत वर्षको तुलनामा यो वर्ष फलफूलको जुस निकासीमा ६.० प्रतिशतले घटेको छ । गत वर्षको सात महिनामा २ अर्ब ७ करोड रुपैयाँ बराबरको फलफूलको जुस निकासी भएको थियो भने यो वर्ष १ अर्ब ९५ करोड रुपैयाँ बराबरको मात्र निकासी भएको छ । 

त्यस्तै चालु आवको माघ महिना सम्ममा २ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ बराबरको अन्य बस्तु निकासी भएको अर्थ मन्त्रालयको अर्थ बुलेटिन तथ्याङ्कले देखाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया