काठमाडौं – चालु आर्थिक वर्षको माघ महिनामा उपभोक्ता मूल्य वृद्धि (मुद्रास्फीति) २.७० प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
उक्त मूल्य वृद्धि ४२ महिना यताकै कम हो । यस अघि सबभन्दा कम आर्थिक वर्ष २०७४/७५ को साउन महिनामा रहेको थियो । त्यस महिनामा उपभोक्ता मूल्य वृद्धि २.२९ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार अघिल्लो वर्षको माघ महिनामा उपभोक्ता मूल्य वृद्धि ६.८७ प्रतिशत रहेको थियो । चालु आवमा पनि सरकारले मूल्य वृद्धि ७ प्रतिशतमा कायम गर्ने भनेको थियो । तर, त्यो हालसम्म आउँदा २.७० प्रतिशतमा कायम रहेको छ । त्यो अनुसार मूल्य वृद्धिमा सुधार देखिएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समुहको उपभोक्ता मूल्य वृद्धि ३.०२ प्रतिशत र गैर खाद्य तथा सेवा समुहको उपभोक्ता मूल्य वृद्धि २.४४ प्रतिशत रहेको छ ।
गत वर्षको माघ महिनाको तुलनामा यो वर्षको माघ महिनामा फलफूल, घ्यू, तेल, दाल, गेडागुडी र सुर्तिजन्य वस्तुहरूको उपसमुहको मूल्यवृद्धि क्रमश १८.८४, १८.१४, १०.४१ र १०.४१ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.७८ प्रतिशत, तराईमा २.६८ प्रतिशत, पहाडमा ३.३० प्रतिशत र हिमालमा २.०५ प्रतिशत मूल्य वृद्धि भएको छ ।
त्यस्तै गत वर्षको यही महिनामा यी क्षेत्रहरूमा क्रमश ७.५८, ७.२९, ५.४६ र ५.२८ प्रतिशत उपभोक्ता मूल्य वृद्धि भएको थियो । समीक्षा महिनामा वार्षिक बिन्दुगत थोक उपभोक्ता मूल्य वृद्धि ६.१२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको समीक्षा महिनामा ७.१३ प्रतिशत रहेको थियो ।
आर्थिक वर्षको माघ महिनामा उपभोग्य बस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्य वृद्धि क्रमश ८.४१, ५.३३ र ३.३९ प्रतिशत रहेको छ । त्यस्तै समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.२७ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया