मह उत्पादनबाट वार्षिक रु  २० लाख आम्दानी

४ बर्ष अगाडि

बाँके- कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त छन् ।  कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा  घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउन हुन्छ । मौरीहरुको आधार  चाका हेरचाह गर्दै उनिहरुको दिनचर्या बित्छ । 

मौरीलाई आधार चाका  दिँदा वर्षमा रु एक लाखको दुई क्विन्टल दिने गरेको लीलबहादुरले बताए। त्यसैगरी वर्षमा चिनी रु दुई लाखको दिने गरिएको छ ।   गाडीमा राखी ठाउँठाउँमा चराउँदा ढुवानी खर्च वर्षमा रु  पाँच लाखसमेत लागेको राणा बताउँछन् ।

तराईको गर्मीमा हुने मेली फेरा नामक मौरी तराईको ४० डिग्री गर्मीमा समेत बाँच्न सक्छ ।  आजकाल प्रतिकेजी रु ६०० मा बिक्री हुन्छ ।  कोहलपुर र नेपालगञ्जमा मह उत्पादन गरी बिक्री गर्नेमा सफल नाम  राणाको परिवारको छ । नौजनाको परिवार  मह बेचेर चलाएको   राणा बताउँछन् । त्यही मौरीले दिएको मह वर्षमा ४० क्विन्टल उत्पादन गरी रु २० लाख आम्दानी हुने गरेको छ   । उनि मौरीपालनमा लागेको १० वर्ष भयो ।  आफूहरुको मेहनत देखेर आफूहरुलाई नेपाल सरकारले गत वर्ष रु १४ लाख अनुदान कृषि ज्ञान केन्द्र बाँकेमार्फत  मौरीपालन गर्न दिएको राणा बताउँछन् ।   यस वर्ष पनि  रु १० लाख अनुदान मौरी पकेट कार्यक्रम कोहलपुर नगरपालिकाले र कृषि ज्ञान केन्द्र बाँकेले दिएका छन् । 
    
विसं २०७१ मा जिआई जेटले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य हुँदा आफूहरुलाई मह प्रशोधनका लागि घर निर्माण गर्न र यन्त्रका लागि रु १०  दश लाख अनुदान रकम दिएकाले साहस बढेको राणाले बताउँछन् ।  मौरी पकेट कार्यक्रम कृषि ज्ञान केन्द्र बाँकेले तीनवर्षे मौरी पकेट अनुदानसमेत दिएको छ । 
  
राणा सञ्जीवनी मौरी फार्मको सञ्चालकसमेत बन्नुभएको छ ।  “गरे के हुँदैन, अहिले रुदिलो, सिसौको फूलहरु भएको ठाउँमा मौरी लिएर चराउँदै व्यस्त हुन्छौँ”, बाबुछोराले हाँस्दै भने,   “विदेश किन जाने, विदेशभन्दा नेपालमै पनि पैसा कमाउन सकिन्छ । हामी त मौरीमा रमाउँछौँ ।   कात्तिकदेखि माघमा तोरीको फूलको रस  खान्छन् मौरीले,  माघफागुनदेखि वैशाखसम्म रुदिलो झारीको फूलको रस र सिसौको फूलको रस अनि वैशाखजेठसम्म जामुनको फूलको रस खान्छन् ।”

उनिहरु कहिले राजापुर कहिले ठाकुरद्वारा र कहिले बाँसगढी दुई महिना दुई महिनामा ठाउँ सार्दछन् ।  जेठदेखि असोजसम्म चिनी दिएर मौरी बचाउनुपर्छ । उनिहरु त्यस समयमा घरमा लगेर मौरी राख्दछन्  । राणाले भने, “४० डिग्री तापक्रम सहन सक्ने क्षमता हुन्छ मेली फेरा मौरीको ।  मौरी रहेको धर्तीमा खेती राम्रो सप्रने उनले बताए ।

मौरी प्रकृतिमैत्री जीव हो जसले प्रकृतिको रक्षा गर्छ र अन्न उत्पादनमा सुधार हुन्छ ।  अहिले महको बजारीकरण सजिलो भएको र  प्राङ्गारिक मह भनेर धेरैले घरैमा लिन आउने गरेको राणा बताउँछन् । राणा भन्छन्, “चितवन, दाङ र सुर्खेतदेखि  मौरीपालन व्यवसायीहरु मौरी चराउन बर्दिया आउँछन् ।” 

बर्दिया मेली फेरा मौरीका लागि अति उत्तम ठाउँ हो ।  अरू किसानलाई पनि सरकारले अनुदान दिएर सहयोग गरेमा मौरीपालनमा घाटा नहुने  उनले बताए  । तरकारी, अन्नपात जस्तै मह नकुहिने र  बिक्री नभएमा तापक्रम मिलाएर राखेपछि अर्को वर्ष पनि बिक्री भइहाल्ने गरेकाले यस पेशामा लाग्न राणाले आग्रह गरे ।  उनि भन्छन्, “तर ल्याब टेष्ट नगरी मह बिक्री गर्न दिनुहुँदैन ।  भारतको मह नेपाल आउँदा सरकारले जाँच गर्नुपर्छ ।”
 

४ बर्ष अगाडि

प्रतिक्रिया