सात महिनामा साढे २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

४ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक वर्षको माघ मसान्तसम्म विभिन्न देशहरुबाट रु २५ अर्ब ३१ करोड ७३ लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । लगानी प्रतिबद्धताको आएको कुल रकमले विभिन्न क्षेत्रमा  १ सय ३१ परियोजना सञ्चालन गर्न सकिन्छ । जसले ३ हजार ७४० जनतालाई रोजगारीको अवसर प्रदान गर्न क्षमता राख्दछ । यी परियोजना सञ्चालन गर्न रु २४ अर्ब १३ करोड ८५ लाख बराबरको कुल खर्च हुने नेपाल उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालयको तथ्यांकले देखाएको हो । 

विभागको तथ्यांक अनुसार यस अवधिसम्म सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । चालु आवको ७ महिनामा पर्यटन क्षेत्रमा रु १५ अर्ब ५१ करोड ८५ लाख  बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । कोरोना कहर संगै प्रत्यक्ष प्रभावित रहेको नेपालको पर्यटन क्षेत्रमा पनि वैदेशिक लगानीकर्ता लगानी गर्न इच्छुक रहेको यस क्षेत्रमा आएको लगानी प्रतिबद्धताले देखाउँदछ ।  उक्त क्षेत्रमा आएको यस प्रतिबद्धतामा ७८ वटा परियोजना सञ्चालन गर्न सकिन्छ जसले २ हजार ३४ जना व्यक्तिलाई रोजगारी को अवसर दिनसक्ने क्षमता राख्दछ । यस प्रतिबद्धताबाट सञ्चालन हुने परियोजनाको कुल खर्च रु. १५ अर्ब ५३ करोड ८५ लाख रहेको छ । 

यस्तै,अन्तरराष्ट्रिय समुदाय नेपालमा सेवा क्षेत्र लगानी गर्न पनि निकै इच्छुक रहेको तथ्यांकले देखाउँछ । नेपालको सेवा क्षेत्रको विकास र विस्तारका लागि सात महिनामा रु.५ अर्ब १० करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस प्रतिबद्धतामा ३२ वटा परियोजना रहेको छन् । जसले १ हजार २६२ जनामा व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्न क्षमता राख्दछ । उक्त ३२ परियोजनाको कुल खर्च भने रु. ५ अर्ब २१ करोड रहेको छ । 

यसैगरी, गएको सात महिनामा निर्माण क्षेत्रमा रु. २ अर्ब २६ करोड ३९ लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस क्षेत्रमा १३ वटा परियोजना रहेका छन् । जुन परियोजनाहरु सञ्चालन भएको अबस्थामा २ सय १ जना व्यक्तिले रोजगारीको अवसर पाउनेछन् । निर्माण क्षेत्रमा प्रतिवद्धता आएअनुसारका उद्योग खोल्न रु.२ अर्ब ५९ करोड खर्च लाग्ने विभागले जनाएको छ । 

त्यसैगरी, सुचना तथा प्रविधि क्षेत्रमा ४ परियोजनाका लागि रु. २ अर्ब ५ करोड लगानी प्रतिबद्धता आएको छ । ति परियोजना स्थापनाका लागि रु ४ अर्ब खर्च लाग्ने र सञ्चालनमा आएपछि १ सय ४० जना व्यक्तिले रोजगारीको अवसर पाउने देखिन्छ ।

कृषि तथा वनजन्य क्षेत्रमा  २ परियाजना सञ्चालनका लागि रु. ३७ करोड ९० लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जुन परियोजना सञ्चालन गर्न कुल खर्च रु ४० करोड खर्च लाग्ने जनाइएको छ । चालू आर्थिक वर्षका बैदेशिक लगानी प्रतिवद्धतामध्ये ऊर्जा क्षेत्रमा सबैभन्दा कम रु. ५८ लाख बराबरको प्रतिबद्धता छ । 

नेपालजस्तो अति कम विकसित मुलुकका रुपमा मार खेपिरहेको मुलुकलाई समुन्नत तुल्याउन वैदेशिक लगानीको ठूलो भूमिका रहन्छ । वर्तमान सरकारले ‘सुखि नेपाली समृद्ध नेपाल’ भन्ने नारा समेत तय गरेको अबस्थामा मुलुकको अर्थतन्त्रलाई गति दिन वैदेशिक लगानीको समुचित परिचालन गर्न भने आवश्यक रहने विज्ञहरु बताउँछन् ।  

No description available.

४ बर्ष अगाडि

प्रतिक्रिया