३० कृषकलाई मकैको बीउ उत्पादन तालीम

४ बर्ष अगाडि

काठमाडौं - किसानलाई वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ । 

राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो । सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी भएका थिए । 

वर्णशङ्कर मकैको बीउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका वर्णशङ्कर परीक्षण तथा सिफारिस गर्ने व्यवस्था, वर्णशङ्कर मकैमा मलखाद व्यवस्थापन, मकैमा लाग्ने प्रमुख रोगलगायत विषयमा विज्ञले तालीम दिएका थिए । 

मकै उत्पादनमा आत्मनिर्भर बन्न नसकेको वर्तमान अवस्थामा तालीमपछि कृषक वर्णशङ्कर मकै उत्पादनमा अग्रसर हुने अपेक्षा राखिएको तालीम संयोजक वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीले बताए । 

नेपालमा उत्पादन भइरहेको मकैले कूल खपतको २५ देखि ३० प्रतिशत मात्र धान्ने गरेको छ । कखुरापालक कृषकका लागि मात्रै वार्षिक पाँच लाख मेट्रिक टन मकै बाह्य मुलुकबाट आयात हुने गरेको तथ्याङ्कले देखाएको छ । 

बीउ खरीदका लागि विदेशिने रकम मात्रै रोक्न सके पनि कृषक महङ्गीको मारबाट बच्न सक्ने विज्ञहरु बताउँछन् । कार्यक्रममा रामपुरका प्राविधिक दामोदर गौतमले कृषक आफैँले वर्णशङ्कर मकै उत्पादन गर्न शुरु गरे वर्णशङ्कर मकैको बीउ आयातसमेत विस्तारै कम हुने बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया