काठमाडौं - आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् ।
नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिनुभएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् । विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिनुभएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल शुरु गरे ।
मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उहाँले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गरे । पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल शुरु गरे ।
पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर ¥याक भरेको उनले स्मरण गरे । उनले भने, “पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ ।” रु ८० हजार ऋण खोजेर ३० हजारको ¥याक बनाएपछि रु ५० हजारको सामानबाट उहाँले पसल शुरु गरे ।
सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उनले भने, “दैनिक रु एक लाख ५० हजारसम्मको व्यापार भयो ।” आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उनले प्रेसिडेन्ट होटल शुरु गरे ।
होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उनले भने, “पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल शुरु गरेँ ।” क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरेको उहाँले बताउनुभयो । त्यतिबेला उनीसँग एक साझेदार पनि थिए ।
निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो । विसं २०६५ मा सुन्धारामै ४० कोठाको अर्को घर लिएर उहाँले होटल शुरु गरे । दुवै होटलको सफलताले उनलाई त्यतिकैमा रोकिन मन लागेन । उनले विसं २०६९ मा रुपन्देहीको लुम्बिनीमा १५ कोठाको होटल शुरु गर्नुभयो । विसं २०७२ सालमा बालाजुमा २० कोठाको होटल शुरु गरे।
होटलको व्यवसाय फस्टाउँदै गएपछि उनलाई रेष्टुराँमा हात हाल्ने हौसला मिल्यो । त्यससँगै विसं २०७३ मा सुन्धारामा पे्रसिडेन्ट सेकुवा शुरु गरे । सेकुवाको स्वादले धेरैको मन लोभ्याएपछि उनलाई थप रेष्टुराँ खोल्ने चाहना बढेर गयो । क्रमशः कलङ्कीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा शुरु भयो ।
उनको व्यवसायमा एकपछि अर्को गर्दै फड्को मार्ने क्रम भने अझै रोकिएको छैन । उनले बालाजुमा आगामी चैतबाट बेकरी शुरु गर्दै हुनुहुन्छ भने चितवनकै कुरिनटारमा साझेदारीमा ३० कोठाको रिसोर्ट निर्माणको प्रक्रिया शुरु गरेका छन् । रिसोर्टबाहेक अन्यमा ७० प्रतिशत उनको आफ्नै लगानी छ भने ३० प्रतिशत स्थानीय र कर्मचारीलाई शेयर दिएका छन् ।
‘न्यून दरमा सेवा र गुणस्तर तारे होटलसरह’ भन्ने नाराका साथ लाग्नुभएका उहाँले स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा र स्वादिष्ट खानामा नै ध्यान पु¥याएका कारण सफलता मिलेको बताए । एउटा होटल वा रेष्टुराँ सञ्चालन गर्न रु ५० लाखदेखि रु दुई करोडसम्म खर्च भएको उनको भनाइ छ ।
कम खर्चमा बनेको सुन्धाराको होटलमा रु ५० लाख लगानी भएको बताउँदै उनले भरतपुरको सेकुवामा रु दुई करोड खर्च भएको जानकारी दिए ।
प्रतिक्रिया