मोबाइलको आयात ११ अर्बले बढ्यो, संख्यात्मक हिसाबमा कति मोबाइल सेट भित्रिए ?

४ बर्ष अगाडि

काठमाडौं-  चालु आर्थिक वर्षको माघसम्ममा नेपालमा २४ अर्ब छ करोड रूपैयाँ मोबाइल आयात भएको छ । आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्बले मोबाइलको आयात बढेको भन्सार विभागले जनाएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब तीन करोड रूपैयाँ बराबरको मोबाइल आयात भएको थियो । गत माघ महिनामा मात्रै नेपालमा तीन अर्ब ४३ करोड रूपैयाँ बराबरको स्मार्टफोन भित्रिएको तथ्यांक छ।

संख्यात्मक हिसाबमा सोही अवधिसम्म ४३ लाख ६८ हजार वटा मोबाइल सेट भित्रिएको छ। अघिल्लो वर्षको यही अवधिमा ३३ लाख ३५ हजार वटा सेट आयात गरिएको थियो।

व्यापारीहरूले मोबाइल आयात गर्दा सरकारलाई तीन अर्ब ८० करोड रूपैयाँ राजस्व तिरेका छन्।

भन्सार विभागले पछिल्लो समय नेपालमा माग बढेपछि मोबाइलको आयात बढेको जानकारी दिएको छ। खासगरी लकडाउनको समयमा नेपालमा मोबाइलको उपयोग बढेको थियो।

यस्तै, मोबाइल वितरक संघका अनुसार कोरोनाको समयमा नेपालले सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्दा लुकिछिपि भन्सार छलेर ल्याइने मोबाइलको संख्या घटेको छ।

जसका कारण, नेपाललाई आवश्यक पर्ने मोबाइल वैधानिक माध्यम अर्थात् भन्सार नाकाबाटै आउँदा रकम बढेको संघले जानकारी दिएको छ। संघका अध्यक्ष जगत साउदले वैदेशिक रोजगारीबाट नेपाल फर्किनेहरूको संख्या घट्दा पनि मोबाइलको आयात बढेको बताए।

४ बर्ष अगाडि

प्रतिक्रिया