बन्दाबन्दीले समस्यामा परेको भन्दै पश्चिमाञ्चल होटल सङ्घ ९हान० पोखराले विद्युत्को डिमान्ड शुल्क मिनाहा गरिदिन सरकारसँग आग्रह गरेको छ ।
कोभिड–१९ को महामारीसँगै जारी बन्दाबन्दीका कारण बन्द होटल क्षेत्र धरासायी हुने अवस्थामा पुगेको भन्दै सङ्घले त्यस्तो आग्रह गरेको हो ।
सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा सोमबार नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय गण्डकी प्रादेशिक कार्यालय पोखरा पुगेको होटलकर्मीको टोलीले व्यवसाय ठप्प भएका कारण डिमान्ड शुल्क मिनाहा भए केही राहत हुने भन्दै निर्देशनालयका प्रमुख टेकनाथ तिवारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
अध्यक्ष तुलाचनले आगामी आर्थिक वर्षको बजेट आउनुअघि नै उल्लिखित आग्रहसहित केही मागहरु होटल क्षेत्रका तर्फबाट सरकारलाई बुझाएको भए पनि सम्बोधन हुन नसकेको भन्दै विद्युत्को डिमान्ड शुल्क हटाउन प्राधिकरणको सम्बन्धित विभागको ध्यानाकर्षण गराएको बताए ।
होटल क्षेत्रलाई उद्योगको मान्यता दिइएको भनिए पनि सेवा सुविधा र सहुलियतमा भने सरकारका तर्फबाट सो अनुसारको व्यवहार नगरिएको उनको गुनासो थियो ।
यसैगरी खपत भएको विद्युत्को महसुल तिर्न व्यवसायी तयार रहेको तर त्यस्तो शुल्क अवस्था सामान्य भएपछि तिरे हुने व्यवस्थाका लागि समेत व्यवसायीले प्राधिकरण समक्ष आग्रह गरेका थिए ।
प्रतिक्रिया