गुणस्तरहीन खाद्यान्न वितरण गरेको अभियोगमा पक्राउ परेका कलैयाका मेयर राजेश राय यादवसहित १० जनाविरुद्ध कालोबजारी मुद्दा दर्ता गरिएको छ।
बारा प्रहरीले मेयर यादवलाई मंगलवार दिउँसो नियन्त्रणमा लिएको थियो भने यसअघि ९ जना पक्राउ परिसकेका छन्। बाराको कलैया उपमहानगरपालिकाको विभिन्न वडामा गुणस्तरहीन राहत सामग्री वितरण गरेको आरोपमा बारा प्रहरीले एक साताभित्र १० जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कलैया-५ वडाका वडाध्यक्ष, १ जना वडा सचिव, यादव कोल्ड स्टोरेजका २ जना मुन्सी र एक भारतीय नागरिक गरी १० जना रहेको बारा प्रहरीले जनाएको छ।
बारा प्रहरीका प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार पक्राउ पर्नेमा मेयर यादवसहित वडाध्यक्षहरु हरिओम प्रसाद सोनार, सैफुल्ला मियाँ अन्सारी, सरगुनारायण चौधरी, राजनप्रसाद कुर्मी, महेश साह छन्।
त्यस्तै, कलैया–७ बस्ने खेदुमिया अन्सारी, यादव कोल्ड स्टोरेजका मुन्सीद्वय बच्चु दास र कृष्ण यादव पनि पक्राउ परेका छन्। त्यसैगरी, प्रहरीले भारत घर भई हाल कीर्तिपुरमा बस्दै आएका तेजकरण जैनलाई पनि पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका १० जना माथि नै कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डिएसपी मिश्रले जानकारी दिए।
लकडाउनले विपन्न परिवारको बिजोग भएपछि उ्थानीय तहले राहतमा खाद्यान्न वितरण गरिरहेका छन्। यस क्रममा कलैया उपमहानगरपालिकाले वडा नम्बर १, ७, ११, १३, २० र २१ गरी ६ वटा वडामा राहत बाँड्दै थियो।
गुणस्तरहीन चामल र दाल वितरण गरेपछि स्थानीयले राहत बहिस्कार गर्दै बारा प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि बारा प्रहरीले अप्रेशन चलाउँदै मेयरसहित १० जनालाई पक्राउ गरेको हो।
प्रतिक्रिया