स्वास्थ्य सामग्री किन्न सेनाले बुझायो चीनलाई १ करोड ८४ लाख अमेरिकी डलर, भारतबाट पनि ५३ प्रकारका औषधि ल्याउने

५ बर्ष अगाडि

नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्न चीनलाई एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरेको छ । 

चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग सामग्री खरिदका लागि नेपालले सो रकम भुक्तानी गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । 

सेनाले सो कम्पनीसँग सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट चीनबाट ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको छ । 

प्रवक्ता पाण्डेले मंगलवार जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले चिनियाँ पक्षसँग भएको खरिद सम्झौता अनुसार नेपालले भुक्तानी गरेको रकम चिनियाँ पक्षले पाइसकेको जानकारी दिएको पनि बताए । 

सम्झौता अनुसार नेपाल र चीनबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिने छ। सोमबार नै रकम भुक्तानी भएकोले अबको एक साताभित्र चिनियाँ पक्षले ती स्वास्थ्य सामग्री ग्वान्जाओमा जम्मा गरिदिने छ । 

त्यसपछि सेनाले अत्यावस्यक सामग्री हवाईमार्गबाट र अन्य सामग्री स्थलमार्गबाट ल्याउने तयारी गरेको छ । प्रवक्ता पाण्डेका अनुसार हवाई मार्गबाट ल्याउनका लागि हवाई सेवा प्रदायकसँग छलफल भइरहेको छ । 

‘हामीले नेपाल एयरलाइन्स र श्री एयरसँग छलफल गरिरहेका छौँ,’ उनले भने, ‘ग्वान्जाओमा सामग्री जम्मा भएपछि निष्कर्षमा पुग्छौँ।’

व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडक मार्ग हुँदै ल्याउने तयारी गरिएको छ। 

स्थलमार्गबाट ल्याउन भने ग्वान्जाओबाट तातोपानी नाकासम्म करिब सात दिन, भन्सार प्रक्रिया पूरा गर्न दुई दिन र काठमाडौं ल्याउन एक दिन लाग्ने छ । 

त्यसका लागि बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग बुझ्ने काम भइरहेको छ। अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउने भन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने ढंगबाट कुराकानी अगाडि बढेको उनको भनाई छ । 

नेपाल महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१ औँ स्थानमा छ । तर चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने वचनबद्धता व्यक्त गरेको छ । 

यद्यपी नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था सामान्य रहेमा अत्यावश्यक बाहेकका सामग्री सडक मार्ग हुँदै ल्याइने छ भने अवस्था जटिल बन्दै गएमा हवाई मार्गबाट पनि ल्याइने सेनाको योजना छ । 

यस्तै भारतबाट पनि कोभिड– १९ का बिरामीलाई दिइने औषधि खरिद गर्ने तयारीमा नेपाली सेना छ ।  भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारीका विषयमा पनि छलफल भइरहेको पाण्डेले बताए । 

त्यसका लागि सेनाले नेपाललाई आवश्यक पर्ने औषधिको सूची पठाइसकोको र भारतीय पक्षसँग औषधि खरिदपछि गरिने भुक्तानी प्रक्रियाका बारेमा छलफल भइरहेको सेनाले जनाएको छ । 

भारतीय पक्षबाट प्रतिकृया आउनेवित्तिकै चाँडै यसको टुंगो लगाइने सेनाले जानारी दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया