सुन किनेर ढुकुटी रित्याउन हुँदैन: सुनचाँदी व्यवसायी, महँगियो सुन

५ बर्ष अगाडि

सुनचाँदी व्यवसायीले कोरोना भाइरसको कारण आर्थिक संकट देखिन थालेको अवस्थामा अहिले सुन किनेर राष्ट्रिय ढुकुटी रित्याउन नहुने बताएका छन् । 

यो बेला राष्ट्रिय ढुकुटीमा रहेको डलर सञ्चित गर्नु अनिवार्य भएको भएकोले सुन आयात गरेर ढुकुटी रित्याउन नहुने उनीहरुको भनाई छ ।  

उनीहरुले मन्त्रीपरिषदले आइतबार गरेको सुन आयात घटाउने निर्णयको पनि स्वागत गरेका छन् । 

‘कोरोनाका कारण रेमिट्यान्स र निर्यात छैन, यस्तोबेला राष्ट्रिय ढुकुटीको सञ्चिती रित्याउनु हुन्न,’ महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने ।

उनले सरकारको निर्णयले तत्काल बजारमा सुनको अभाव पनि नहुने तर सबै अवस्था सामान्य भएपछि भने हालको निर्णयमा पुर्नविचार गर्नुपर्ने बताए । 

महामारीको त्रास बढेसँगै सुन आयात गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मात्र अनुमति दिएको छ । 

यसअघि नेपाल बैंकर्स संघको निर्णय अनुसार चक्रीय पालोमा वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्ने गरेका थिए ।

मन्त्रिपरिषद्को आइतबारको निर्णयपछि अब बैंकहरुले दैनिक १० किलो मात्र सुन आयात गर्न पाउने छन् ।

व्यवसायीहरुले देशभरका सुनचाँदी पसल बन्द गर्दै सुनचाँदीको मूल्य पनि तोकेका छैनन । मूल्य नतोकिएपनि डलरको आकासिएको मूल्यले गर्दा सुनको भाउ प्रतितोला ८५ हजार हाराहारीमा पुगेको व्यवसायीहरुको दावी छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया