काठमाडौं । भारतले नेपालमा नाकाबन्दी गरेपछि सरकारले ऊर्जाका विभिन्न स्रोतहरुको खोजी गर्यो । भारतले नेपालमाथि थोपरेको ज्यादतीले पारेको प्रभाव हालसम्म बिर्सिएका छैनन् नेपालीले ।
ऊर्जा सुरक्षाको लागि भन्दै सरकारले चीनबाट इन्धन ल्याउने, नेपाल नम्बर प्लेट भएका सवारीबाट खाना पकाउने ग्याँस आयात गर्ने विषय पनि अगाडि सार्यो । सरकारको ग्रीन सिग्नलपछि नेपाली उद्योगीले नेपाली नम्बर प्लेटका ग्याँस बुलेट पनि बनाए ।
कुल ७७५ वटा नेपाली नम्बर प्लेटका ग्यास बुलेट बनीसकेको छ । तर सरकारले कुटनीतिक पहल गरेर समस्या समाधान गर्न नसक्दा नेपाली व्यापारीको अर्बौ रकम बालुवामा पानी हाले जस्तै हुन पुगेको छ । कारण र तथ्य जे जस्तो भएपनि नेपाली व्यावसायीको रकम डुब्नु भनेको नेपालको लगानी खेर जानु हो ।
अघिल्लो सरकारले भारतसँग ग्याँस बुलेटको विषयमा स्पष्टसँग कुरा गर्न नसक्दा नेपाली व्यावसायीको लगानी बालुवामा पानी भएको नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेको भनाइ छ ।
भारतले ग्याँस बुलेटको सुरक्षाको प्रश्न उठाएर सञ्चालन गर्न दिएको छैन । त्यो भन्दा पनि नेपालमा ग्याँस आयात गर्ने भारतीय व्यापारीको कमाई खोसिने भन्ने भयले गर्दा नेपाली नम्बर प्लेटका ग्याँस बुलेट सञ्चालनमा आउन नसकेको ग्याँस उद्योगीहरुको भनाइ छ ।
नाकाबन्दी पछि सै साधान र स्रोत सम्पन्न गराउने सरकारको घोषणालाई साथ दिदै नेपाली व्यावसायीले गरेको लगानी समेत डुब्ने अवस्थामा पुगेको हो । भारतीय बुलेटको सट्टा नेपाली नम्बर प्लेटका बुलेटबाट ढुवानी गर्न ग्यास उद्योगीले नयाँ बुलेट खरिद गरे पनि सञ्चालनमा भारतले व्यवधान खडा गरेको र समस्या समाधानका लागि सरकारले पहल नगरेको उनीहरुको भनाइ छ ।
बुलेट सञ्चालनका लागि भारतले विस्फोट रहित रहेको प्रमाणपत्र दिनुपर्ने भन्दै अल्झाएर राखेको छ ।
नेपालको सबै कानुनी प्रक्रिया पुर्याइएको, भारतीय दूतावासको सिफारिश समेत भएको, आपूर्ति मन्त्रालयले आवश्यक व्यवस्था गरेको तथा सबै सुरक्षाका उपाय तथा उपकरण समेत जडान गरिएको भएपनि भारतीय व्यापारीको आम्दानी घट्ने भन्दै नेपाली नम्बर प्लेटमा बुलुट सञ्चालन गर्न नदिइएको व्यासायीको भनाइ छ ।
भारतीय नाकाबन्दीसँग लडेका भनिएका तत्कालीन प्रधानमन्त्री केपी ओली पुन सरकारको नेतृत्वमा आइपुगेका छन् । विगतमा पनि माओवादीको समर्थनमा सरकार प्रमुख बनेका ओली पुनः माओवादीकै समर्थनमा बहुमतको सरकारको प्रमुख बनेका छन् । ग्याँस व्यवसायीले आफूहरुको समस्या समाधान हुने अपेक्षा राखेको बताएका छन् ।
नेपाल आयात हुने ‘पेट्रोल, डिजेल, हवाई इन्धनका गाडी अधिकाशं नेपाली नम्बर प्लेटका छन् । तर ग्याँसमा मात्रै विभेद भएको उनीहरुको भनाइ छ ।
नेपाली बुलेटले ढुवानी गर्न थाले आफ्नो व्यवसाय चौपट हुने भन्दै भारतीय व्यापारीले भारतीय आइल कर्पोरेशनका अधिकारीलाई प्रभावमा पारेको नेपाली व्यवसायीको भनाइ छ ।
सरकारले ७ ७५ बुलेट आयातमा ६६ प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि नेपाली व्यवसायी बुलेट खरिदमा आर्कषित भएका थिए । नेपाली व्यवसायी बलियो हुनु नेपालको अर्थतन्त्र बलियो हुनु हो भन्ने तथ्यका साथ बुलेट खरिद गरिएपनि सञ्चालन गर्न नपाएपछि आफूहरु समस्यामा परेको पूर्व अध्यक्ष घिमिरेको भनाइ छ ।
गृहलक्ष्मी, एभरेस्ट, मेची, कन्काई, पराजुली ब्राण्डका ग्यास कम्पनीले ५७ बुलेट खरिद गरिसकेका छन् । एउटा बुलेटको लागत रु ७० लाखदेखि ९० लाखसम्म पर्ने व्यवसायीको भनाइ छ ।
व्यवसायीले बुलेट सञ्चालनको वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया