झापाको बाह्रदशी गाउँपालिका–१ स्थित राजगढमा लगाइएको स्ट्रबेरी खेतीले मनग्य आम्दानी दिन थालेको छ ।
काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३२ बिघा जमीनमा लगाएको स्ट्रबेरी खेतीबाट दैनिक ५० देखि ६० किलोसम्म प्रतिकेजी रु एक हजारका दरले बिक्री भइरहेको कम्पनीका लेखापाल विजय पाठकले बताए ।
उहाँका अनुसार स्ट्रबेरी खरिद सबैभन्दा बढी इटहरीको गोर्खा डिर्पाटमेन्टल स्टोर्स र विराटनगरको भाटभटेनी सुपरमार्केटले गरिरहेका छन् । एकैपटक धेरै खरिद गर्नेलाई थोक मूल्यमा प्रतिकेजी रु आठ सयमा दिइने गरेको उनले बताए । झापामा पहिलोपटक गोल्यान एग्रो ट्रेड प्रालिले भारतको कलकत्ताबाट चार प्रकारका स्ट्रबेरीका बिरुवा ल्याएर व्यावसायिक खेती गरेको हो । सो खेतीमा फलेको स्ट्रबेरी हेर्न दैनिकजसो ५०÷६० जना आउने गरेका लेखापाल पाठकले बताए ।
विशेषगरी जिल्लाका विभिन्न स्थान र धरान विराटनगरका कृषि सहकारी अवलोकन भ्रमणका लागि आउने र खेतीका बारेमा जानकारी लिने गरेका छन् । गत कात्तिक र मङ्सिर महिनामा गरी प्रालिले आठ लाख ५० हजार बिरुवा लगाएको थियो । बिरुवा लगाएको दुई महिनादेखि नै फल्न शुरु गरेको स्ट्रबेरी हालसम्ममा २० टन बिक्री भइसकेको छ ।
प्रालिले मुख्य व्यापारिक केन्द्र विर्तामोडको हनुमान सेन्टरमा कक्ष राखेर हाल स्ट्रबेरीको बिक्री गरिरहेको उहाँको भनाइ छ । “दुर्गम ठाउँमा छ, यातायातको असुविधाले सबै आउन सक्दैैनन्”, उनले भने, “सहजरुपमा उपलब्ध होस् भन्ने सोचले हनुमान सेन्टरमा स्टल राखेर बिक्री गरिहेका छौँ ।” रु १० करोडभन्दा बढी लगानीमा शुरु गरेको स्ट्रबेरी लगाएको दुई महिनादेखि नै फल्न थाले पनि चार महिनासम्म रहने जनाउँदै अझै ५० टनभन्दा बढी बिक्रीका लागि रहेको उनले बताए ।
उनले आजदेखि काठमाडौँका व्यापारी पनि स्ट्रबेरी खरिदका लागि आउन शुरु गरेका जानकारी दिँदै बिक्रीका लागि बजारको समस्या नभएको बताए । कम्पनीले झापाको बाह्रदशी गाउँपालिकाभित्रै २१० बिघा जमीन खरिद गरेर व्यावसायिकरुपमा जैविक फलफूल र तरकारी खेती गर्दै आएको छ । प्रालिले स्ट्रबेरीसँगै राजगढमा ड्रागन खेतीसमेत शुरु गरेको छ ।
प्रतिक्रिया