नेपालमा वर्षेनी १० करोड भन्दा बढीको कारोबार हुने सुधारिएको चुल्होप्रति सरकारी नीति अव्यवहारिक हुँदा नेपाली उद्योगी मर्कामा परेका छन् ।
नेपालीले विदेशबाट बनिबनाउ चुलो आयात गर्दा थोरै राजश्व लिने सरकारले नेपालमै चुल्हाे निर्माण गर्नका लागि कच्चा पदार्थ ल्याउनेलाई चर्को भन्सार लिने नीतिका कारण नेपाली उद्योगी मर्कामा परेका हुन् ।
वीरजंगको ‘हस्क पावर नेपाल प्रालिका सञ्चालक मनोज गुप्ताका अनुसार विदेशबाट बनिबनाउ चुल्हाे आयात गर्दा जम्मा १ प्रतिशत भन्सार शुल्क लिने सरकारले चुलो बनाउनका लागि कच्चा पदार्थ आयात गर्दा ८ देखि ३३ प्रतिशतसम्म भन्सार लिने गरेको बताए ।
‘विदेशबाट तयारी चुल्हो आयात गर्दा १ प्रतिशत भन्सार महसुल तिरेर आयातकर्ताले ल्याइरहेका छन्,’ उनले भने,’ तर हामीले उत्पादन गर्न कच्चा पदार्थ मगाउँदा ८ प्रतिशतदेखि ३३ प्रतिशत सम्म भन्सार महसुल लाग्छ, अर्को सरकारले १३ प्रतिशत भ्याट पनि लिन्छ ।’
उनले विदेशबाट कच्चा पदार्थ ल्याएर वीरगंज–२१ लिपनीविर्तामा सुधारिएको चुलो निर्माण गर्ने उद्योग चलाएका छन् । सो उद्योगले गत वर्ष वैकल्पिक उर्जा प्रवर्द्धन गर्न र उर्जा बचतमा जनचेतना जगाएको र र चुल्होको कार्यदक्षता राम्रो भएको भन्दै एउटा अमेरिकी संस्था, दिल्लीको जिटिएस तथा पार्लियामेन्ट्री हाउस अफ लन्डनबाट तीन वटा अन्तराष्ट्रिय पुरस्कार पाएको थियो ।
उनको उद्योगले सामान्य र इलेक्ट्रिक गरि दुइथरीका चुल्हो उत्पादन गर्दै आएको छ । दुबै चूलो काठ, दाउरा, धानको भुस तथा सुक्खा झारपातबाट बल्छन् । फरक यत्ति मात्र हो की इलेक्ट्रिकमा विद्युतीय पंखा जडान गरिएको हुन्छ जसमा २ वाटको बिजुली प्रयोग हुन्छ।
चुलो नेपालमै बनाएर राम्रो आम्दानी गर्न सकिने भएपनि सरकारी नीतिका कारण स्वदेशी उद्योग संकटमा परेको तथा ट्रेडिङ व्यवसाय गर्ने कम्पनी मालामाल भएको मनोजको आरोप छ।
सरकारले स्वदेशी उद्योगलाई सरकारले संरक्षण गरी १३ प्रतिशत भ्याट रिफन्ड र कच्चा पदार्थ आयातको भन्सार दर कम गरेमा १० करोडको ब्यापार घाटा कम हुने उद्योगीको भनाई छ । यसबाहेक स्वदेशमै सयौंलाई रोजगारी उपलब्ध समेत उपलब्ध हुने मनोजको दावी छ ।
नेपालको पहाडी जिल्ला तथा पूर्वी नेपालमा सुधारिएको चुल्होको उच्च माग भएपनि नेपालमा ४ वटा ठुला चुल्हा उत्पादन गर्ने उद्योग सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया