बागलुङको ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम स्थापानाका लागि गण्डकी प्रदेश सरकारसँग सम्झौता भएको छ । गाउँपालिका र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका बीचमा कार्यक्रम कार्यान्वयनलाई सम्झौता भएको हो ।
स्थानीय तहबाटै सम्पूर्ण काम गर्ने गरी पहिलो चरणमा छनोट भएका स्थानीय तहलाई औद्योगिक ग्रामका लागि अनुदान रकम उपलब्ध गराउन मन्त्रालयले सम्झौता गरेको हो ।
गण्डकी प्रदेशमा ११ स्थानीय तह औद्योगिक ग्रामका लागि छनोट भएका छन् । जसमध्ये पाँच वटा स्थानीय तहसँग मात्रै पहिलो चरणमा सम्झौता भएको हो ।
बागलुङमा औद्योगिक ग्रामका लागि छनोट भएको बागलुङ नगरपालिका सँग भने दोस्रो चरणमा सम्झौता हुने मन्त्रालयले जनाएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साललका स्वकीय सचिव किशोर सापकोटाका अनुसार बागलुङमा दुई पालिकाले औद्योगिक ग्राम स्थापनाका लागि जग्गासहितको प्रस्ताव पेश गरेका थिए ।
औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि र अन्य प्रचलित कानून अवलम्बन गरी पूर्वाधार विकास गर्ने गरी स्थानीय तहसँग रु ५४ लाख ५० हजारका दरले अनुदान दिनेगरी सम्झौता भएको मन्त्रालयले जनाएको छ ।
विसं २०७६ असोज ७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका ११ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न स्वीकृति दिएको थियो ।
तीमध्ये पाँच स्थानीय तहले प्रदेश सरकारले माग गरेबमोजिमका आवश्यक कागजात समयमै पेश गरेकाले पहिलो चरणमा अनुदान रकमका लागि सम्झौता गरेका हुन् ।
औद्योगिक ग्राम स्थापनालाई सम्झौता गर्नेमा स्याङ्जाको पुतली बजार नगरपालिका, वालिङ नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका, बागलुङको ताराखोला गाउँपालिका छन् ।
बाँकी छ स्थानीय तहलाई छिट्टै नै आवश्यक कागजात पेश गर्न लगाई सम्झौता गर्ने तयारी भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।
यो आर्थिक वर्षमा ११ वटा औद्योगिक ग्राम स्थापना गर्ने प्रदेश सरकारको तयारी छ । सम्झौताअनुसार औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन डिपीआर निर्माण भई सोहीबमोजिम स्थानीय तहले यसै आर्थिक वर्षबाट पूर्वाधार निर्माण शुरु गर्नेछन् ।
स्थानीय तहलाई प्रदेश सरकारले उपलब्ध गराउने अनुदानबाट स्थानीय सरकारले पूर्वाधार विकासका कार्यक्रम सीमा पर्खाल, तारबार, पहुँचमार्ग, प्लट, विद्युत् प्रसारण, सम्भव भएसम्म वैकल्पिक ऊर्जाको प्रयोग, गोदाम घर, पानीको आपूर्ति, फोहर व्यवस्थापनजस्ता पूर्वाधार विकास गर्नुपर्छ ।
औद्योगिक ग्राममा विशेष गरी स्थानीयस्तरमा उपलब्ध हुने कच्चापदार्थ, अर्धप्रशोधित कच्चापदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ ।
स्थानीयस्तरमा प्राप्त हुने कोदो, मकै, धान, गहुँ, फापर, दूध ,मह ,चिया कफी ,फलफूल जडीबुटीलगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमूलक उद्योग निर्माण गर्ने प्रदेश सरकारको उद्देश्य छ ।
प्रतिक्रिया