रोजगारी पाएपछि .....

६ बर्ष अगाडि

शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारकी कोपिला अर्याल घरमा बस्दा फेसबुक चलाउने, युट्युब हेर्ने गर्थिन् । उनलाई दिन बिताउनका लागि मोबाइल चलाउनुपर्ने बाध्यता थियो । तर माघ महिना शुरु भएसँगै उनलाई दिउँसोको समयमा मोबाइल चलाउने फुर्सद छैन । वडा नं ५ बेलचौतारामा स्थापना भएको ढुङ्ग्रो उद्योगले उनको दैनिकी बदलिएको छ ।

“श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ, म घरमा एक्लै छु”, अर्यालले भनिन्, “घरमा यत्तिकै बस्दा दिन कटाउन पनि गाह्रो हुन्थ्यो, मोबाइल चलाउँदै बस्नुको विकल्प थिएन, तर अहिले उद्योगमा काम गर्न थालेपछि दैनिकीमा परिवर्तन आएको छ ।” उनको बिहान ९ देखि साँझ ५ बजेसम्म उद्योगमा काम गर्दा समय बित्ने गरेको छ । “पहिला दिउँसोको समयमा हातमा मोबाइल हुन्थ्यो, अहिले ढुङ्ग्रो हुन्छ”, अर्यालले भनिन् । 

श्रीमानले विदेशमा १०–१२ घण्टा काम गर्ने गरेको र अहिले आफूले पनि काम गर्न थालेपछि कामको महत्व पनि बुझेको अर्यालले बताइन् । उद्योगले सीप सिकाउनुका साथै आम्दानीको स्रोत पनि बनाएको उनले बताइन् । खैरेनीटारकै इन्द्रा अर्यालको पनि दिउँसोको समय त्यत्तिकै बित्थ्यो । उनको पनि उद्योगमा काम गर्न थालेपछि दैनिकी फेरिएको छ । बिहान चाँडै नै खाना खाएर घरधन्दा सकेर दिनभर उद्योगमा काम गर्ने गरेको उनले बताइन् । 

घरमै त्यत्तिकै समय खेर फाल्नुभन्दा उद्यमशील बन्ने उद्देश्यसहित उद्योगमा काम गर्न शुरु गरेको उनले जानकारी दिए । “घरमै बसेर खेर जाने समयको सदुपयोग गर्दा आम्दानीको स्रोत पनि भएको छ”, उनले भनिन् । व्यास नगरपालिका–१० घर भई हाल शुक्लागण्डकी–५ बेलचौतारा बस्ने विष्णु थापाले रोजगारीले आम्दानीको स्रोत भएकाले केही कुरा किन्नुपर्दा श्रीमान्को भर पर्नु नपरेको बताइन् । “केही कुरा किन्न पर्दा श्रीमान्सँग पैसा माग्नुपथ्र्यो, अहिले आफैंले पनि अलि–अलि कमाउन थालेपछि श्रीमान्को भर पर्नुपरेको छैन”, उनले भनिन् ।  

माछापुच्छ«े फुड प्रोडक्टमा उनीहरुसहित ३० महिला र पाँच पुरुषले रोजगारी पाएका छन् । सबै महिला शुक्लागण्डकी आसपासका हुन् । स्थानीय पवनकुमार ढकाल, सुरज श्रेष्ठ, ढाकाराम सुवेदी, जयशङ्कर यादव र अभिषेक यादवको संयुक्त लगानीमा यही माघ १ गतेदेखि उद्योग सञ्चालनमा आएको छ । लगानीकर्ता ढकालको जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरिएको छ ।

उद्योगमा हालसम्म रु ३५ लाख लगानी भएको सञ्चालक ढकालले जानकारी दिए । उक्त उद्योगबाट हाल ढुङ्ग्रोमात्रै उत्पादन भइरहेको र निकट भविष्यमा चिजबललगायत पनि उत्पादन शुरु गरिने उनले बताए । “शुरुआती चरण भएको भएर अन्य सामग्री उत्पादन गर्न सकेका छैनौँ, तर केही समय पछाडि अन्य सामग्री पनि उत्पादन गर्ने गरी काम थालेका छौं”, उनले भने ।  उनका अनुसार उद्योगबाट हाल ७० प्याकेट ढुङ्ग्रा उत्पादन भइरहेका र मागअनुसार पुर्याउन कठिन भइरहेको छ । 

उद्योगबाट उत्पादित ढुङ्ग्रा तनहुँको शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, भीमाद नगरपालिकाका साथै पोखरा, नारायणगढ, बागलुङ, स्याङ्जालगायतका ठाउँमा निर्यात हुने गरेको छ । उद्योगमा काम गर्ने कामदारलाई हाल दैनिक रु २०० का दरले पारिश्रमिक दिइएको उनले बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया