काबेलीमा बैंक अफ काठमाडौँलगायतले १ अर्ब ४० करोड लगानी गर्ने

६ बर्ष अगाडि

काठमाडौं । ताप्लेजुङ र पाँचथरको सीमामा निर्माण हुने ९.९४ मेगावाटको काबेली ‘बी’ १ क्यासकेड जलविद्युत आयोजनामा विभिन्न दुई बैंकले रु १ अर्ब ४० करोड ऋण लगानी गर्ने भएका छन् ।

अरुण भ्याली हाइड्रो पावर कम्पनीले निर्माण गर्ने आयोजनामा बैंक अफ काठमाडौंको अगुवाई तथा कुमारी बैंकको लगानी हुनेछ ।

आयोजनामा कूल लागतको ७० प्रतिशत ऋण लगानी हुने गरी सम्झौता भएको कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए ।

 उनका अनुसार आयोजनामा ३० प्रतिशत स्वपूजी लगानी छ । रु २ अर्ब लागत अनुमान गरिएको आयोजनाको आगामी फागुन १ गतेदेखि भौतिक संरचनाको काम सुरु गर्ने तयार छ ।

यो आयोजना २५ मेगावाटको काबेली ‘बी’–१ को क्यासकेड हो । काबेली ‘बी’–१ बाट विद्युत उत्पादन भएर निस्कने पानीको उपयोग गरी क्यासकेड आयोजना निर्माण गर्न लागिएको छ ।

आयोजनाको विद्युतगृहमा ४.९७ मेगावाट क्षमताका २ वटा टर्बाइन जडान हुनेछ । टर्बाइनमा ३ फेजका २ वटा जेनेरेटर राखेर विद्युत उत्पादन गरिनेछ । आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक ५८.०२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादन भएको विद्युत ३ किलोमिटर दुरीमा रहेको काबेली ‘बी’–१ को १३२ केभी पुलिङ सबस्टेसनमा जोडिनेछ ।

विसं २०७८ असोज १ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्यसहित कम्पनीले आयोजनाको निर्माण प्रक्रिया अगाढी बढाइएको छ । आयोजनाको नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरिसकेको छ । प्राधिकरणले हिउँदमा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँमा आयोजनाको विद्युत खरिद गर्ने गरी सम्झौता गरेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया