सरकारले एक लाख त्रिहत्तर हजार एकहत्तर किलो रक्तचन्दन लैजान स्वीकृति दिएको छ ।
नेपालको बाटो हुँदै अन्य मुलुकमा तस्करी गर्ने क्रममा बरामद गरेको सो रक्तचन्दन ९० दिनभित्र लैजान मन्त्रीपरिषदले स्विकृत दिएको हो ।
आफ्नै खर्चमा लैजान स्विकृत दिने निर्णय रक्तचन्दन काठ जे–जस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट फिर्ता लैजान स्वीकृति दिइएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।
साईटीस सन्धीको आर्थिकल ८ र संकटापन्न बन्यजस्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा २ र ३ अनुसार संकटापन्न वन्यजन्तु तथा वनस्पति जहाँ बरामद गरेपनि उत्पत्ति भएको मुलुकलाई दिनुपर्ने हुन्छ ।
सोही बमोजिम नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् भारतको सम्बन्धित अधिकारीलाई सो रक्तचन्दन लैजान स्विकृति दिएको बाँस्कोटाले बताए ।
अवैध तरिकाले भित्रिएका रक्तचन्दन समातिएपछि सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने प्रावधान भएपनि लामो समयदेखि नेपालमा बरामद भएका रक्तचन्दन भारतले फिर्ता नलगेपछि त्यसको सुरक्षा र व्यवस्थापनमा करोडौं खर्च भइरहेको छ।
त्यसैअनुसार सरकारले पटकपटक ताकेता गरे पनि भारतले लगेको छैन।
भारतको आन्ध प्रदेश, महाराष्ट्र तथा कर्नाटक राज्यमा पाईने भएपनि नेपालको बाटो हुँदै अबैध कारोबार हुने रक्तचन्दत वन विभाग र अन्य जिल्लामा सुरक्षा दिएर राखिएको छ ।
नेपालमा हालसम्म दुई लाख ४७ हजार ४८ किलोग्राम रक्तचन्दन समातिएकोमा अहिले एक लाख ७३ हजार सत्र किलो रक्तचन्दन अझै नेपालमै छ ।
पक्राउ परेको मध्ये ३६ हजार नौ सय २८ किलो भारतले जिम्मा लिएको र बाँकी १९ हजार तीन सय २४ किलो हराएको विभागले जनाएको छ ।
नेपालका चितवन, सर्लाही, झापा, नवलपरासी, ताप्लेजुङ, कपिलवस्तु, सप्तरी, गोरखा र काठमाडौं लगायतका २० वटा जिल्लाबाट रक्तचन्दन बरामद भएको थियो ।
यसको माग तिब्बतमा बढी भएको भन्दै पूर्वी नाकाबाट बढी चोरीनिकासी हुँदै आएको छ। यसको तस्करीमा ठूला गिरोह संलग्न रहेको प्रहरी दाबी गर्छ।
प्रतिक्रिया