एलपी ग्यासको खपत चार गुणाले बढ्यो

६ बर्ष अगाडि

पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ ।सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यासको खपत उच्च दरमा वृद्धि भएको हो ।

नेपाल आयल निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०६५-६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकोमा आव २०७५-७६ सम्ममा ४ लाख १२ हजार ८५३ पुगेको हो । 

बर्सेनि ग्यासको खपत बढ्दै गएपछि आयात पनि सोही अनुपातमा बढ्दै गएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले ग्यासको प्रयोग बढ्दै गएकाले खपत पनि सोही अनुपातमा बढ्दै गएको बताए । “पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएको छ,” उनले भने, “औसतमा वार्षिक रूपमा १५ प्रतिशतका दरले ग्यासको खपत बढ्दै गएको छ ।”

सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यासको खपत १५ प्रतिशतले वृद्धि निगमको तथ्यांकले देखाएको छ । बिजुलीभन्दा सस्तो पर्ने र सहजै प्रयोग गर्न सकिने भएकाले यसको खपत वर्सेनि बढ्दै गएको निगमको भनाइ छ ।

बढ्दो सहरीकरणले दाँउरा र गुइँठाको प्रयोग घट्न थालेपछि ग्यासको खपत बढ्दै गएको निगमको भनाइ छ । निगमका अनुसार ग्यासको मासिक औसत खपत ३० देखि ३२ हजार टन हुने गर्छ । निगमले पछिल्लो १० वर्षमा २६ लाख ६ हजार २ सय ४८ टन ग्यास आयात गरेको छ । 

निगमका अनुसार आर्थिक वर्ष २०६५(६६ मा १ लाख १५ हजार ८१३ टन आयात भएकोमा आव ०६६(६७ मा १ लाख ४१ हजार १७१ आयात भएको थियो । यस्तै आव ०६७(६८ मा १ लाख ५९ हजार २८६ टन आयात भएकोमा आव ०६८-०६९ मा १ लाख ८१ हजार ४४६ टन आयात भएको थियो ।

आव ०६९-०७० मा २ लाख ७ हजार ३८ टन ग्यास आयात भएको निगमको तथ्यांक छ । २०७०-७१ मा २ लाख ३२ हजार ६६० टन ग्यास आयात भएको थियो । यस्तै, आव ०७१(७२ मा २ लाख ५८ हजार २९९ टन आयात भएकोमा आव ०७२-७३ मा २ लाख १४ हजार १९४ टन आयात भएको थियो । 

०७२-०७३ मा भारतले गरेको अघोषित नाकाबन्दीका कारण कम ग्यास आयात भएको थियो । यस्तै आव ०७३-७४ मा ३ लाख १२ हजार ९२८ टन आयात भएकोमा आव ०७४-७५ मा ३ लाख ७० हजार ५६० टन आयात भएको निगमको तथ्यांक छ ।

हाल सञ्चालनमा रहेका ५९ वटा ग्यास उद्योगसँग ७ हजार ८ सय २३ टन ग्यास भन्डारणको क्षमता रहेको छ । निगमसँग भने ग्यास भन्डारणको क्षमता छैन । निगमसँग ग्यास ढुवानी गर्ने ट्यांकर नभएका कारण एलपी ग्यास पी।डी।ओ ग्यास उद्योगीलाई उपलब्ध गराउने गर्छ । 

५९ वटा बोटलिङ प्लान्टले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यासको आयात गर्ने गर्दछन् । गर्मी मौसमको तुलनामा चाँडो मौसममा ग्यासको खपत धेरै हुने गर्छ । 

मुलुकमा सवैभन्दा धेरै ग्यास व्यावसायिक प्रयोजनमा धेरै खपत हुने गर्छ । घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम गर्दा उपभोक्तालाई प्रत्यक्ष मार पर्ने गरेको छ । 

घरायसी र व्यावसायिक प्रयोजनका लागि दोहोरो मूल्य कायम गर्ने भनिए पनि अहिलेसम्म कार्यान्वयनमा आउने सकेको छैन । मुलुकमा ग्यासको विकल्प नहुँदा ग्यासकै लागि बर्सेनि २० देखि २५ अर्ब रुपैयाँ बाहिर जाने गर्छ ।
कारेबारबाट

६ बर्ष अगाडि

प्रतिक्रिया