काठमाडौं – इरान र अमेरिकाको बढ्दो तनावका कारण हाल विश्व बजारमा सुनको मुल्य निरन्तर बढ्दै गएको छ । त्यसको प्रभावले नेपालमा पनि सुनको मुल्य हालसम्मकै नयाँ उचाइमा पुगेको छ ।
सामान्य अवस्थामा प्रतितोला रू. ६० हजार हारहारीमा रहेको सुनको मुल्य अमेरिका र चीन बीचको व्यापार युद्धका कारण गत भदौ १८ गते रू. ७३ हजार ५०० सम्म पुगेको थियो । पछिल्लो समय सुनको मुल्य घट्न पनि सुरु गरेको थियो । तर,अहिले फेरी इरान र अमेरिका बीचको बढ्दो तनावका कारण सुनको मुल्य बढेपछि व्यवसायीसँगै उपभोक्ता पनि मारमा परेका छन् ।
अमेरिका र इरानको बढ्दो तनावले विश्व अर्थबजारमा ह्रास आउन सक्ने आशंका गरिएको छ । जसको फलस्वरुप शेयरबजारका लगानीकर्ताहरु सुनतर्फ लगानी बढाउन थालेका छन् । त्यसैले विश्वबजारमा सुनको मुल्य बढेको हो ।
नेपालमा पनि सुनको मुल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । यसरी अन्तरराष्ट्रिय बजारमा नै सुनको मुल्य बढेपछि नेपाली बजारमा सुनको मुल्य दैनिक नयाँ उचाईमा पुगेको छ ।
पुसको दोस्रो सातादेखि नै निरन्तर सुनको मुल्य बढ्दै आएको छ । गत पुस १५ गते ७३ हजार ५०० पुगेको थियो । त्यसपछि उक्त विन्दु पनि तोड्दै गत शुक्रबारदेखि सुनको मुल्य निरन्तर नयाँ उचाईमा पुगेको छ ।
शुक्रबार सुनको मुल्य प्रतितोला रू. ७४ हजार ५०० र आइतबार रू. ७५ हजार ५०० पुगेको थियो । सोमबार पनि सुनको मुल्य बढेर रू. ७६ हजार रुपैयाँ पुगको छ, जुन हालसम्मकै उच्च हो ।
यद्यपि, यो मुल्य अन्तिम होइन, सुनको मुल्य अझै बढ्न सक्ने बताइएको छ ।
अहिले विवाह सिजन नजिक आइरहेको छ । तर सुनको मुल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । गत बर्षहरुमा यस बेला विवाहका लागि सुनका गरगहना अडर भइसकेको हुन्थ्यो । तर, अहिले उपभोक्ताहरु सुनको मुल्य सुने पछि आहो भन्दै फर्किने गरेका छन् ।
गत बर्ष यसै दिन अर्थात पुस २१ गते सुनको मुल्य ६० हजार ३०० मात्रा थियो । जसअनुसार एक बर्षमा सुनको मुल्य रू. १५ हजार ७०० ले बढेको देखिन्छ । यसरी अस्वभाविक मात्रामा सुनको मुल्य बढेपछि व्यापारीहरु पनि त्रेसित भएका छन् ।
त्यसमाथि मुल्य बढेपछि गरगहना फिर्ता गर्न आउने ग्राहको संख्या पसलहरुमा बढ्दै गएको छ । यसले व्यवसायीलाई थप मर्का भएको छ । एक व्यवसायीले भने, ‘उनीहरुले फिर्ता लिएको गहना नकिन्ने हो भने ग्राहक नै भड्किने डर हुन्छ । किनौं भने व्यवसाय नै छैन । हामी ठुलो समस्यामा परेका छौं ।’
सुनको मुल्य बढेपछि स्वाभाविक रुपमा केही रकम फाइदा हुन्छ । त्यसैले गर्दा ग्राहकहरुले अहिले महंगो हुदाँ गरगहना बिक्री गर्ने र पछि सस्तो भएपछि किन्ने गर्छन् । यस्तो परिस्थीतिमा ग्राहकले व्यवसायीहरुको मर्का नबुझेको स्वयम व्यवसायीहरु बताउछन् ।
प्रतिक्रिया