काठमाडौं – भाटभाटेनी सुपर मार्केट अहिले जुन स्थानमा छ, त्यो स्थानमा आउला भनेर अध्यक्ष मान बहादुर गुरूङले कहिले साचेका पनि थिएनन् । खोटाङ जिल्लामा जन्मिएका गुरूङले २०४१ सालमा जम्मा ३५ हजारको लगानीमा काठमाडौंमा एउटा सानो छाप्रोमा रिटेयल व्यवसाय सुरु गरे, जुन अहिले भाटभाटेनी रूपमा परिचित छ ।
हालसम्म आउँदा भाटभाटेनीले काठमाडौं, पोखरा, चितवन भैरहवा गरेर १७ वटा शाखा स्थापना गरिसकेको छ । अहिले त्यहाँ करिब १० हजार जनाले रोजगारी पाएका छन् । यसैबीच गत बिहीबार बागलुङ भएको एक लगानी सम्मेलनमा अध्यक्ष गुरुङले बागलुङमा भाटभाटेनी स्थापना गर्ने घोषणा गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष गुरूङले भाटभाटेनी यो स्थानमा आउला भनेर कल्पना पनि नगरेको बताए । उनले भने, ‘सामान्य किसान परिवारबाट जन्मेको मैले यो स्थानमा आउछु भनेर सोचेको पनि थिएन । तर, लगनशिल भएर काम गर्दै गएपछि सम्भव हुदो रहेछ ।’
अहिले किनमेल तथा सपिङ गर्ने शिलशिलामा धेरै व्यक्तिको रोजाईमा भाटभाटेनी सुपर मार्केट पर्दछ । पछिल्लो समय काठमाडौं लगायतका शहरहरूमा यसको लोकप्रियता पनि बढ्दै गएको छ । जसको फलस्वरुप जम्मा ३५ हजार लगानी रहेको यस कम्पनीले अहिले अर्बाै बराबरको कारोबार गर्दै आएको छ ।
यसरी सुरूदेखि नै व्यवसायमा अपार सफलता पाउँदै आएपछि अहिले अध्यक्ष गुरूङले देख्ने सपना पनि ठुला हुँदै गएका छन् । उनले देश भित्र नै थप शाखा विस्तार गरेर ५० हजार नेपाली रोजगारी दिने योजना बनाएका छन् । साथै, भाटभाटेनीलाई संसारभर फैलाउने उनको सपना छ । बागलुङमा भाटभाटेनी खोल्ने घोषणा गर्दै भने, ‘भाटभाटेनीलाई संसारभर फैलाउने सपना छ । आवश्यक पुर्वाधार र स्थानीय सरकारको सहयोग मिल्यो भने बागलुङमा त यसै पनि भाटभाटेनीको शाखा खोल्छु ।’ भाटभाटेनीमा कपडा, खाद्य वस्तु, उपहार बस्तु, मेकअप आइटम, किचन सामग्री लगयातका सामग्री किनमेल गर्न सकिन्छ ।
प्रतिक्रिया