हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् ।
अघिल्लो वर्षको रकमसमेत नपाएका किसान यस वर्ष पनि चिनी उद्योग समयमै सञ्चालनमा नआएकै कारण हरेक वर्षजस्तै अहिले पनि आन्दोलनको तयारीमा जुटेका छन् । पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, वाग्मती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेका छन् ।
ती उद्योगबाट किसानले अघिल्लो वर्षको गरी करिब रु ५० करोडभन्दा बढी रकम लिन बाँकी छ । तर चिनी उद्योगले रकम दिन विभिन्न बाहना बनाउँदै आएका छन् । अघिल्लो वर्षको भुक्तानी शुरु गर्नुपर्ने र शुरुमै मूल्य निर्धारण गरी तत्काल सबै चिनी उद्योग सञ्चालनमा आउनुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादव बताउछन।
चिनी उद्योग सञ्चालकले भने थोरै थोरै रकम भुक्तानी गरी यस वर्ष पनि उधारोमा उखु लिन दाउमा देखिन्छन् । किसानले भुक्तानी शुरु गरेर मात्र चिनी मिल सञ्चालन गर्नुपर्ने माग राख्दै चिनी उद्योगमा धर्ना दिएर आन्दोलनको शुरुआत गरेका छन् ।
उद्योगमा रहेका चिनी बिक्री नभएकाले रकम भुक्तानी गर्न नसकिएको भन्दै उद्योग सञ्चालक आलटाल गर्दै आएको पाइन्छ । इन्दिरा सुगर मिलका मालिक राकेश अग्रवालले किसानको करोडौँ रकम तिर्न बाँकी छ । उद्योगमा रहेको करोडौँ मूल्य बराबरको चिनी र मोलासिस बिक्री भएको छैन । बिक्री भएपछि सबै रकम भुक्तानी दिने उनले बताए ।
पुरानो भुक्तानी समस्या झेल्दै आएका किसान यस वर्ष पनि खेतमा उखु तयार भइसक्दासमेत चिनी उद्योग सञ्चालनमा नआएपछि किसान दोहोरो मारमा परेका उखु कृषक समिति (तदर्थ) प्रवक्ता धीरज त्रिपाठी बताउछन ।
गत वर्ष उखुको क्रसिङ यामभन्दा दुई महिनापछि उद्योग सञ्चालनमा आएका कारण करोडौ मूल्य बराबरको उखुखेतमा सुकेर समस्यामा परेका उखु किसानलाई यस वर्ष पनि उही समस्या आउने निश्चित जस्तै छ ।
पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकममध्ये अहिलेसम्म पनि करिब रु ५० करोड भुक्तानी पाएका छैनन् । चिनी उद्योगलाई उधारोमा दिएको उखुको भुक्तानी नपाएका किसान यस यस वर्ष पनि समयमै उखु मिल सञ्चालन नहुँदा मर्कामा परेका छन् ।
पश्चिम नवलपरासीको सुस्ता प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखुखेती गरिन्छ । पश्चिम नवलपरासीमा वार्षिक करिब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखुखेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ ।
प्रतिक्रिया