नेपाली उपभोक्ताले आकासिदो प्याजको मूल्यमा केहि राहत दिने गरी चिनीयाँ प्याज नेपाल भित्रन थालेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार पछिल्लो समय दैनिक ४० देखि ४५ मेट्रिक टन चिनियाँ प्याजले नेपाल भित्रीएको हो ।
भारतीय प्याजको आयात कम भएपछि चिनियाँ प्याज तर्फ व्यवसायीहरु आकर्षित भएको कालिमाटी फलफूल तथा तरकारी व्यापार संघले बताएको छ ।
भारतीय प्याजको तुलनामा चिनीयाँ प्याज झण्डै ५० प्रतिशतले नै सस्तो पर्ने व्यवसायीहरुको भनाई छ ।
हाल कालिमाटी फलफूल तथा तरकारी बजारको थोक बजारमानै भारतीय प्याज प्रतिकेजी २१० देखि २५० रुपैयाँ सम्म पर्ने गरेको छ । तर चिनियाँ प्याज भने ११० देखि १४० रुपैयाँ प्रतिकेजीमा नै उपलब्ध हुने गरेको छ ।
प्याजका लागि चर्को मूल्य तिर्नुपरेका नेपाली उपभोक्तालाई चिनीयाँ प्याजले केही राहत दिएपनि बजारको कुल प्याजको माग चिनियाँ प्याजले मात्र धान्ने अवस्था भने छैन ।
अहिले नेपालमा कूल मागको करिब ५० प्रतिशत मात्र चीनबाट आपूर्ती हुने गरेको व्यवसायीरुको भनाई छ ।
नेपालमा दैनिक झण्डै ९० देखि १०० मेट्रिक टन प्याजको माग रहेकोमा चिनबाट ४०–४५ मेट्रिक टन मात्र प्याज नेपाल भित्रिने गरेको छ । बाँकी ५० प्रतिशत प्याजको पुर्ती अझै अपुग छ ।
यता आन्तरिक उत्पादन अत्यधिक कम हुँदा नेपालले अभावका बेला पनि भारतीय बजारकै मुख ताक्नु परिरहेको व्यवसायीहरुको गुनासो छ ।
नेपालले वार्षिक झण्डै १२ अर्ब बराबरको प्याज आयात गर्दै आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षमा मात्र नेपालले १४ अर्ब ४ करोडको बराबरको प्याज आयात गरेको थियो । यसै आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र नेपालले ५ अर्ब १९ करोडको प्याज आयात गरिसकेको छ ।
प्रतिक्रिया