दाङका साढे ६ हजार उद्योग दर्ताबिनै सञ्चालनमा

६ बर्ष अगाडि

दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् । 

यी उद्योगलाई दर्ता प्रक्रियामा ल्याउने गरी प्रक्रिया अघि बढाउनु पर्नेसमेत उनको भनाइ छ । “दाङमा उद्योगको हामीले तथ्याङ्क सङ्कलन गरेका छौँ”, उनले भने
, “तीमध्ये अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ, यी उद्योगलाई मापदण्डमा ल्याउनुपर्छ ।” 

दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा धेरै उद्योग रहेका छन् । घोराहीमा मात्रै रहेका ५ हजार २१९ प्रतिष्ठानमध्ये ३ हजार ८० वटा दर्ता भएर सञ्चालन गरेको पाइएको छ भने २ हजार १३९ राज्यका निकायमा दर्ता हुन नसकेको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ३ हजार ६८८ रहेका छन् । जसमा १ हजार ९७७ मात्र दर्ता भएका छन् भने १ हजार ७११ दर्ता नभएको पाइएको छ । लमही नगरपालिकामा १ हजार ३४३ उद्योग रहेकोमा ७६२ दर्ता भएका छन् भने ५८१ दर्ता नभएको पाइएको छ ।

 त्यस्तै बङ्गलाचुली गाउँपालिकामा ३८७ प्रतिष्ठानमध्ये १५६ दर्ता भएको र  २३१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । शान्तिनगर गाउँपालिकामा ४७४ प्रतिष्ठानमध्ये १७९ दर्ता भएका र २९५ दर्ता भएका छैनन् । बबई गाउँपालिकामा ५०४ प्रतिष्ठानमध्ये २०४ दर्ता भएको र ३०० प्रतिस्ठान दर्ता नभएका रहेका छन् । दगीशरण गाउँपालिकामा ३६० प्रतिष्ठान रहेकोमा १३२ वटा दर्ता भएका र २२८ दर्ता नभएका रहेका छन् ।

 यसैगरी राप्ती गाउँपालिकामा १ हजार २१८ मध्ये ७९१ वटा दर्ता भएका र ४२७ वटा दर्ता नभएका रहेका छन् । गढवा गाउँपालिकामा ९०५ मध्ये ४८० वटा दर्ता भएका र ४२५ वटा दर्ता नभएका रहेका छन् । राजपुर गाउँपालिकामा ३२३ वटा प्रतिष्ठान रहेका छन् । जसमध्ये १४२ वटा दर्ता भएका र १८१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा पछिल्लो समय उद्योग तथा कलकारखाना स्थापना हुने क्रम बढेको तथ्याङ्कले देखाएको छ । विसं २०७० देखि २०७५ साल जेठसम्म ९ हजार १५९ उद्योग थपिएका हुन् ।

जिल्लामा विसं २०६० देखि २०६९ सम्म ३ हजार ६९७ वटा थपिएका थिए । त्यसैगरी विसं २०६० भन्दा अघि एक हजार ३५४ वटा स्थापना भएका थिए  भने सञ्चालन मिति नै थाहा नभएका २११ वटा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस तथ्याङ्कले जिल्लामा आर्थिक विकास वृद्धि हँदै गएको पाइएको प्रमुख पोख्रेलले बताउनुभयो । 

६ बर्ष अगाडि

प्रतिक्रिया