नेपालबाट चार महिनामा ३७ अर्व २७ करोडको वस्तु निर्यात, आयात भने ६.९२ प्रतिशतले घट्याे

६ बर्ष अगाडि

नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३७ अर्व २७ करोडको वस्तु निर्यात गर्न सफल भएको छ । 

यो गतवर्षको यहि अवधिको तुलनामा २३.९० प्रतिशतले बढी हो । गत वर्षको पहिलो चार महिनामा नेपालले २९ अर्व २८ करोडको निर्यात गरेको थियो । 

यो अवधिमा नेपालको आयात भने ६.९२ प्रतिशतले घटेको छ। गतवर्ष कार्तिक मसान्तसम्म ४ खर्ब ८३ अर्ब ७५ करोडको सामान आयात गरेको नेपालले यो वर्ष ४ खर्ब ५० अर्ब २९ करोडको आयात गरेको छ । 

आयात घट्ने र निर्यात बढेसँगै नेपालको व्यापार घाटा ८.९ प्रतिशतले घटेको छ। गत वर्ष ४ खर्ब ५४ अर्बको व्यापार घाटा रहेकोमा यो वर्षको पहिलो चार महिनामा नेपालको व्यापार घाटा ४ खर्ब १४ अर्बमा झरेको हो।

यसवर्ष डिजेल २९ अर्ब २४ करोड, तयारी कपडा १४ अर्ब ७३ करोड, एमएस ब्लेड १२ अर्ब ७० करोड, पेट्रोल  १२ अर्ब ७७ करोड, एचआर सीट ९ अर्ब ७७ करोड, एल पि।जी ग्यास ८ अर्ब ९० करोड, मोवाइल टेलिफोन ८ अर्ब ६२ करोड, औषधी ८ अर्ब ३१ करोड, मोटरसाइकल ८ अर्ब १७ करोड आयात भएको भन्सार विभागले जनाएको छ । 

निर्याततर्फ भने प्रशोधित पाम तेल ७ अर्ब ३६ करोड, सेन्थेटिक यार्न २ अर्ब ७९ करोड, उनी गलैंचा कार्पेट २ अर्ब ६२ करोड, तयारी कपडा २ अर्ब १६ करोड, भटमासको तेल प्रशोधित २ अर्ब २ करोड, अलैची १ अर्ब ४५ करोड, फलफूलको जुस १ अर्ब ३० करोड, चिया १ अर्ब १६ करोड र सल, दोसल्ला र पछ्यौरा १ अर्ब ६ करोडको निर्यात भएका छन् ।

चार महिनाको अवधिमा नेपालले भारतबाटमात्रै २ खर्ब ७२ अर्ब र चीनबाट ८० अर्ब १८ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । 

निर्यात भने भारततर्फ २४ अर्ब २६ करोड र चीनतर्फ ७१ करोड रुपैयाँको भएको छ। 

६ बर्ष अगाडि

प्रतिक्रिया