सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध छ– उपाध्यक्ष ढकाल

६ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने काममा प्रतिबद्धताका साथ लागिपरेको बताएका छन् । 

महासंघको रोजगारदाता परिषदका सभापति समेत रहेका ढकालले सामाजिक सुरक्षा दिवस, २०७६ को अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यसको प्रभावकारी कार्यान्वयनमा नेपालका उद्योगी व्यवसायीहरु लागि परिसकेको बताए । 

‘सामाजिक सुरक्षा हामी सबैको साझा लक्ष्य हो, रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ यसको सफल कार्यान्वयनको लागि प्रतिवद्ध रहेको छ’, उनले भने । 

सामाजिक सुरक्षा प्रणाली लागुगर्ने क्रममा केही व्यवहारिक कठिनाइहरु देखिएको भए पनि तिनको सम्बोधन गर्दै अघि वढ्नुपर्ने उनको भनाई छ  ।

‘यो महत्वपूर्ण प्रणालीको शुरुवात गर्दा केही अप्ठेरो आउनु स्वभाविकै हो’, उनले भने ‘तर यस योजनामा रोजगारदाता र श्रमिकको सूचिकरण संख्या र केही रोजगारदातावाट योगदान रकम जम्मा गर्न शुरु भइसकेको अवस्थालाई सकारात्मक रुपमा लिनुपर्छ ।’ 

आइएमइ समूहका अध्यक्ष ढकालले सामाजिक सुरक्षा योजनावारे बुझाउन समय लागेकोले पनि सूचिकरण प्रक्रियामा केही ढिलाई भएको बताए । ‘सूचिकरणको संख्या कम भयो भनेर अहिले नै चिन्ता गर्नुपर्ने स्थिति छैन, प्रस्तावित सामाजिक सुरक्षा योजनाका वारेमा रोजगारदाता र श्रमिक सवैलाई प्रष्टसँग वुझाउन सक्नुपर्दछ’, उनले भने ।  

योगदानकर्तालाई सामाजिक सुरक्षा योजनाबाट प्राप्त गर्ने सुविधावारे बुझाउन सकिएन भने थप जटिलता आउनसक्ने तथ्यलाई मनन गरी यसको अवधारणलाई नेपालको परिवेश अनुसार अघि वढाउनु पर्ने उनको सुझाव छ । 

हाल प्रचलनमा रहेको सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई एकिकृत रुपमा सामाजिक सुरक्षा योजनाअन्तर्गत कार्यान्वयन गर्ने काम चुनौतीपूर्ण नै रहेको उनले बताए ।

ढकालले भइरहेको नयाँ प्रस्तावित योजनालाई मिलाएर लैजाने काम एउटा निर्णय र विधिवाट सम्भव नभएको भन्दै व्यवहारिकताको समाधान खोजी यसको सहज र प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताए । 

नेपाल सरकारले यो कार्यक्रम लागू गरेको आज वर्षदिन पुगेको अवसरमा सामाजिक सुरक्षा दिवस मनाउन आज राजधानीमा यो कार्यक्रमको आयोजना गरेको हो । 

सो कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, नेपाल सरकारका सचिवहरु, नेपाल उद्योगा वाणिज्य महासंघका नेताहरुलगायतको सहभागिता थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया