राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले लगातार अन्तराष्ट्रिय उडानको तयारी गरेको छ ।
मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने निगमले पुसको दोस्रो सातादेखि जापानको नारिता सिधा उडान गर्ने भएको छ ।
निगमले ग्वोञ्जाओ उडान अनुमतिका लागि लामो समय सम्म प्रयास गरेको थियो । चीन र नेपालबीच भएको दुई पक्षीय समझदारी अनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चीनले निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने सर्त राखेपनि चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच उडान सञ्चालन गर्ने समझदारी बनेको थियो ।
आगामी जनवरी महीना देखि जापानको राजधानी टोकियो नजिकैको नारिता उडान सञ्चालनका लागि पनि आन्तरिक तयारी पूरा गरेको निगमले जनाएको छ ।
त्यसका लागि जापान सिभिल एभिएशनले मागेको आवश्यक कागजात बुझाइसकेकोले तत्काल उडान अनुमति पाउने मन्त्रालयको दावी छ ।
नारितामा नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले विशेष प्राथमिकतामा राखिएको निगमले जनाएको छ ।
वायूसेवा निगमले गत भदौ १२ देखि सातामा दुई दिन जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएको छ ।
चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि पनि चिनियाँ नियामक निकायसँग पहल थालेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए ।
त्यसका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ ।
प्रतिक्रिया