दिपावलीमा केराको थाम बेचेर आम्दानी

६ बर्ष अगाडि

महोत्तरीसहितका मिथिला क्षेत्रमा  दिपावली पर्व केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । दिपावली (तिहार) पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आर्जनका लागि खास अवसर बनेको हो ।

आइतबार दिपावली पर्वको लक्ष्मीपूजाका लागि एक दिन पहिले आज शनिबार नै केराका थामको बिक्री बढ्ने अनुमान गरिएको छ । महोत्तरीका गाउँ÷नगर बस्तीमा केराका थाम नै लाखौँको बिक्री भएको हो । केराका बोट झ्याङमा धेरै गाँजिएपछि झ्याङमा उखेल्नुपर्ने बोट तिहार पर्खेर बसेका किसानले अहिले बोट उखेलेर राम्रो आम्दानी गरेका छन् । “केराको झ्याङ्मा बोट गाँजिएर केही बोट (थाम) उखेल्नु नै पर्ने भएको थियोे”, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका केरा खेती गर्दै आएका किसान ब्रह्मदेव महतोले भने, “अन्य बेलामा गाँजिएका बोट उखेल्न, फ्याँक्न थप खर्च लाग्ने थियो, तर दिपावलीमा भने फ्याँकिनुपर्ने बोट राम्रो मूल्यमा बिक्री हुने भएकाले गाँजिएका बोट उखेल्न पर्व पर्खेका हौँ ।” आज एकै दिनमा १५ हजारभन्दा बढीको केराको थाम बेचिएको  महतोको भनाइ छ ।
  
दिपावली पर्वमा लक्ष्मी पूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीमा केराका थामको माग बढ्ने गरेको छ । यसपालि थामका लागि एकसाता पहिलेदेखि नै थामका लागि बैना (पेश्की) लिइएको किसानले बताएका छन् । कसैकसैले चार थामको र सामान्यतया दुई थामचाहिँ आमरूपमै स्वागतद्वारमा लगाइने चलनले दिपावली पर्वमा छ । केराका थामको राम्रो ब्यापार हुँदै आएको जिल्लाकै गौशाला नगरपालिकाको लक्ष्मीनिंया बटुवाका किसान रामनरेश महतोको भनाइ छ । 

पर्वमा बनाइने स्वागतद्वारको मूल खाँबा नै केराको थाम ९बोट०बाट बनाइने परम्परा भएकाले मिथिला क्षेत्रमा यसको निकै महत्व हुने गरेको छ । पर्वको ठिक बेला थाम नपाइन सक्ने र त्यसबेला महङ्गो पर्ने भएकाले यहाँ एक साताअघिदेखि नै झाङ ९केराघारी० मै गएर मोलको तय गरिएको थाम किन्नेहरुले बताएका छन् । खासगरी जिल्लाका बजारस्थित व्यापारिक प्रतिष्ठानका सञ्चालक अहिले केराको थाम किन्न गाउँबस्ती चहारिरहेको छ । जिल्लाको भङ्गाहा नगरपालिका–४ का ब्यावसायिकरूपमै केरा खेती गर्दै आएका किसान सत्यनारायण यादवले आपूmले ३५ हजारको केराको थाम बेचेको बताए । “हेर्नुहोस्, राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट रहनु हुँदैन, बोट त छाँट्नुनै पर्छ”, लगभग एक बिघा क्षेत्रफलमा केरा खेती गर्नुभएका यादवले भने, “यस्ता झ्याङमा हामी बोट छाँट्न दिपावली पर्व पर्खने गरेका छौँ ।” त्यत्तिकै उखेलेर फाल्नैपर्ने बोट तिहारमा भने आर्जनको राम्रो स्रोत बन्ने गरेको महतो र यादवजस्तै अरु किसान बताउँछन् ।
 
पर्व विशेषमा जिल्लाका मुख्य बजार बर्दिवास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा र जिल्ला सदरमुकाम जलेश्वर नगरसहितका व्यापारिक प्रतिष्ठानका सञ्चालक थामको खोजीमा बस्ती÷बस्ती  पसेपछि केरा खेती गर्ने किसानले तिहार खर्चको जोहोमा सहयोग पुगेको बताएका छन् । खर्चबर्चको अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला व्यापारीहरु घरमै आएर थामको पैसा बुझाएर जाँदा पर्व मान्न सजिलो भएको जिल्लाकै भङ्गाहा नपा–७  हतिसर्वाको झपौल बस्तीका केरा खेती गर्ने किसान रामचन्द्र महराको भनाइ छ ।
   
दिपावली पर्वमा एकजोडा केराका थाम ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । आफ्नो १० कठ्ठा क्षेत्रफलमा लगाइएको केरा खेतीको प्लटमा  नयाँ कोथा बेचेर १५ हजार लिइएको बलवा नपाको भगवतीपुरकी किसान खोजिदा खातुनले बताए । खासगरी तिहार र छठपर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आपूmहरुको आयआर्जन र गुजाराको राम्रो साधन बनेको आम किसान बताउँछन् ।
 
मिथिला क्षेत्रमा दिपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम शुभ र लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकारहरुको भनाइ छ । बैदिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोक संस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको मिथिला संस्कृतिका ज्ञाता एवं वरिष्ठ पत्रकार जिल्ला सदरमुकाम जलेश्वर–४ सुगाभवानीपट्टीका ७६ वर्षीय कृष्णचन्द्र झा बताउछन् ।
 
दिपावली र छठपर्वसमेतमा जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत २५ लाखभन्दा बढीको कारोवार भएको जलेश्वर उद्योग बाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साह बताउछन् ।  यसपालि एक साताअघि नै थामसँगै पर्वविशेषकै लागि घरीको समेत खरीद बिक्री शुरु भएकाले कारोवार रकम अझै बढ्ने छाँट देखिएको साहको भनाइ छ । 

जिल्लामा पर्व विशेषमा हुने केराको थाम र घरी बिक्रीको आकर्षणले यसको खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल वर्षेनी बढ्दै गएको छ । अहिले जिल्लामा तीन हजार हेक्टर क्षेत्रफलमा व्यावसायिकरूपमै केरा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय मलङ्गवा, सर्लाही ९कार्यक्षेत्र–महोत्तरी, सर्लाही० ले जनाएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया